काठमाडौं बर्नहार्ट २७औं वर्षमा प्रवेश

काठमाडौं बर्नहार्ट २७औं वर्षमा प्रवेश

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बल्खुस्थित प्रतिष्ठित शैक्षिक संस्था काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुलले आफ्नो २६औँ वार्षिकोत्सव भव्य रुपमा मनाउँदै २७औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५७ असार १४ गते स्थापना भएको बर्नहार्टले आइतबार एक विशेष समारोहको आयोजना गरी आफ्नो २६ वर्षको यात्रा, उपलब्धि र आगामी रणनीतिक योजनाबारे चर्चा गरेको हो ।

कार्यक्रमको उद्घाटन स्कुलका अध्यक्ष भूपेश छत्कुली तथा शिक्षक–शिक्षिकाहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । संस्थामा लामो समय योगदान दिने जनशक्तिलाई कदर गर्ने परम्पराअनुसार यस वर्ष विद्यालयमा १० वर्ष सेवा अवधि पूरा गरेका नेपाली विषय विभाग प्रमुख गिरिराजमणि निरौलालाई विशेष सम्मान गरिएको थियो । उक्त अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन पक्षको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै स्कुलका अध्यक्ष छत्कुलीले यस वर्षको वार्षिकोत्सव विगतका वर्षहरूभन्दा फरक र उत्साहजनक रहेको अनुभव सुनाए । विगतका वर्षहरूमा वार्षिकोत्सवकै समयमा एसईईको नतिजा आउन बाँकी हुने भएकाले विद्यार्थी भर्ना र शैक्षिक योजनाबारे एक किसिमको चिन्ता रहने गरेको स्मरण गर्दै उनले यस वर्ष परिस्थिति निकै सहज बनेको उल्लेख गरे ।

अध्यक्ष छत्कुलीले भने, “हरेक वर्ष वार्षिकोत्सव मनाउँदा एसईईको नतिजा आउन बाँकी हुन्थ्यो र कति विद्यार्थी भर्ना होलान् भन्ने अन्योल रहन्थ्यो । तर यस वर्ष समयमै नतिजा पनि आइसकेको छ र कक्षा ११ को भर्ना प्रक्रिया पनि चुनौतीपूर्ण अवस्थाका बीच सन्तोषजनक रूपमा सम्पन्न भएको छ ।”

यसैगरी स्कुलका प्रिन्सिपल पुरुषोत्तम विष्टले पाँच जना शिक्षकको साझा सपना र दृढ संकल्पबाट सुरु भएको काठमाडौं बर्नहार्ट आज देशकै एक स्थापित र अग्रणी शैक्षिक संस्था बन्न सफल भएकोमा खुसी व्यक्त गरे । समयको मागसँगै संस्थाले आफ्नो शैक्षिक दायरा विस्तार गर्दै प्लस टु, बीबीएसलगायतका विश्वविद्यालय तहका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको उनले स्मरण गराए ।

वि.सं. २०६५ को बीबीएसतर्फ काठमाडौं बर्नहार्टले नेपाल बोर्ड प्रथम गराउन सफल भएको गौरवमय इतिहास उल्लेख गर्दै प्रिन्सिपल विष्टले संस्थाको यो निरन्तर प्रगतिमा सम्पूर्ण शिक्षक एवं कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

“यस वर्ष कक्षा ११ मा ८८० विद्यार्थी भर्ना भएका छन् । यो सफलता कुनै एक व्यक्तिको होइन, सम्पूर्ण बर्नहार्ट परिवारको मेहनतको प्रतिफल हो,” उनले भने, “आगामी दिनमा पनि यही समर्पण र गुणस्तरलाई कायम राख्दै अझ उत्कृष्ट परिणाम दिनुपर्ने जिम्मेवारी हामी सबैको काँधमा छ ।”

स्थापनाकालकाे छोटो समयावधिमा नै अब्बल शैक्षिक संस्थाको सूचीमा उभ्याउन सफल काठमाडौं बर्नहार्टले अविछिन्नरुपमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ । पढाईलाई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी स्कुलले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । विद्यार्थीलाई कुनैपनि पाठयक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास गराउनु काठमाडौं बर्नहार्टको कला हो ।

Logo