नेयमारको ‘फेभरेट’ प्रतिद्वन्द्वी जापान, ५ खेलमै गरेका छन् ९ गोल

नेयमारको ‘फेभरेट’ प्रतिद्वन्द्वी जापान, ५ खेलमै गरेका छन् ९ गोल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेयमारको खेल जीवनमा जापान सबैभन्दा प्रिय प्रतिद्वन्द्वीका रूपमा रहँदै आएको छ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ मा ब्राजिलले सोमबार जापानको सामना गर्दै गर्दा सबैको नजर पुनः ३४ वर्षीय भेट्रान फरवार्ड नेयमारमाथि अडिएको हाे ।

विश्वकपको समूह चरणमा स्कटल्याण्डविरुद्ध ३-० को जित निकाल्ने क्रममा करिब १ हजार दिनपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका नेयमारले जापानविरुद्ध अहिलेसम्म कुनै पनि खेल हारेका छैनन्। उनले जापानविरुद्ध खेलेका ५ खेलमा ९ गोल र ३ असिस्ट गरिसकेका छन्। नेयमारले आफ्नो करियरमा कुनै पनि एउटा देशविरुद्ध प्रहार गरेको यो सबैभन्दा बढी गोल हो। उनको यो सूचीमा दोस्रो स्थानमा पेरुविरुद्ध ६ गोल गरेका छन् ।

नेयमारलाई यस खेलमा पनि प्रशिक्षक एन्सेलोटीले दोस्रो हाफमा ‘सुपर-सब’ को रूपमा प्रयोग गर्ने रणनीति बनाएका छन्।

यस्तो छ जापानविरुद्ध नेयमारको ऐतिहासिक प्रदर्शन:

१६ अक्टोबर २०१२ (मैत्रीपूर्ण खेल): जापानविरुद्धको पहिलो खेलमै नेयमारले २ गोल र १ असिस्ट गरेपछि ब्राजिल ४-० ले विजयी भएको थियो।

१५ जुन २०१३ (कन्फेडेरेसन कप): खेलको तेस्रो मिनेटमै जापानविरुद्ध बक्स बाहिरबाट उत्कृष्ट भली गोल गर्दै उनले टोलीलाई जित दिलाए। सो गोललाई उनको करियरकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ।

१४ अक्टोबर २०१४ (मैत्रीपूर्ण खेल): सिंगापुरमा भएको यस खेलमा जापानविरुद्ध नेयमार एक्लैले ४ गोल (हाफ–ह्याट्रिक) गर्दै ब्राजिललाई ४-० को जित दिलाएका थिए। सन् २००० मा रोमारियोपछि ब्राजिलका लागि एकै खेलमा ४ गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए।

२०१७ र २०२२ को भेट: पेरिस सेन्ट जर्मेनमा आबद्ध रहँदा उनले जापानविरुद्ध २०१७ मा ३-१ को जितमा एक गोल र २०२२ मा १-० को जितमा निर्णायक पेनाल्टी गोल गरेका थिए।

ब्राजिलका लागि १२९ खेलमा ७९ गोल गर्दै पेलेको कीर्तिमान तोडिसकेका नेयमार पेले, रोनाल्डो र काफु जस्तै चारवटा विश्वकप खेल्ने चौथो ब्राजिलियन खेलाडी समेत बनेका छन्। सोमबार हुने खेलमा पनि जापानविरुद्ध नेयमारको पुरानो लय फर्कने विश्वास ब्राजिलियन समर्थकहरूको छ ।

दोस्रो चरणको यो भिडन्त दुवै टोलीका लागि गर या मरको अवस्था हो । एकातर्फ विश्व फुटबलमा आफ्नो पुरानो हैसियत पुनःस्थापित गर्न चाहिरहेको ब्राजिल छ भने अर्कोतर्फ सन् २०२२ को ऐतिहासिक जितको पुनरावृत्ति गर्दै विश्वलाई फेरि चकित बनाउने दाउमा जापान रहेको छ ।

समूह ‘सी’ मा रहेको ब्राजिल आफ्नो समूह टप गर्दै अन्तिम ३२ मा प्रवेश गरेको टोली हो । मोरक्कोलाई पछि पार्दै समूह विजेता बनेको ब्राजिलका लागि भिनिसियस जुनियरले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। समूह चरणमा ब्राजिलले ७ गोल गरेको थियो भने १ गोल मात्र खाएको थियो ।

जापान भने समूह ‘सी’ बाट नाटकीय रुपमा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको टोली हो । हालसम्म भएका १३ भेटमा ब्राजिलले ९ खेल जितेको छ भने जापानले १ खेलमा मात्र जित निकालेको छ, ३ खेल भने बराबरीमा टुंगिएका छन् । यद्यपि याेपटक जापान कमजोर प्रतिद्वन्द्वी भने होइन। गत अक्टोबर भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गरेको थियो।

Logo