हल गोरु पाल्ने ११५ कृषकलाई प्रोत्साहन स्वरुप ५ हजार रकम प्रदान

हल गोरु पाल्ने ११५ कृषकलाई प्रोत्साहन स्वरुप ५ हजार रकम प्रदान

केन्द्रबिन्दु
30
Shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप रु ५ हजार उपलब्ध गराएको छ।

पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नका लागि प्रोत्साहन स्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो।

११५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु ५ हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए।

पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर)को प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरुमा सहजरुपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मर्मत गर्नका लागि झन समस्या हुने भएकाले कृषकहरुलाई हल गोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो।

चालु आर्थिक वर्ष २०८२/०८३ कालागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हल गोरु पालेका कृषकहरुसँग आवेदन माग गर्नेसम्बन्धी सूचना गरेको थियो। सूचनाका आधारमा नगरपालिकाका ११ वटै वडाबाट ११६ हल गोरु पालेका कृषकले आवेदन दिएकाले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिए।

“नगरपालिकाबाट हल गोरुसम्बन्धी प्रोत्साहन रकम उपलब्ध गराउनकालागि कृषकहरुसित आवेदन माग ग¥यौँ”, उनले भने, “सूचनाका आधारमा कृषकले गोरुको बिमा गरेको, गोठमा रहेको हल गोरुको तस्बिरसहित आवेदन दिएपछि नगरपालिकाबाट अनुगमन गरेपछि कृषकको खातामा रकम भुक्तानी गरिएको हो।”

नगरपालिकाभित्र हल गोरुको सङ्ख्या आवेदन आएकाभन्दा धेरै रहेको तर कृषकले जानकारी पाएर पनि आवेदन नदिएको हुनसक्ने उनको दाबी छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पनि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। आगामी आवमा चालु आवमा प्रोत्साहन अनुदान नपाएका हल गोरु पाल्ने कृषकले अनुदान पाउने भएका छन्।

Logo