काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को सनसनीपूर्ण खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो, जहाँ मोरक्कोका गोलरक्षक यासिन बोनो नायक साबित भएका छन् ।
एस्टाडियो मोन्टेरेमा भएको यो भिडन्त सुरुदेखि नै रणनीतिक र प्रतिस्पर्धात्मक रहेको थियो । पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफमा खेलले रोमाञ्चक मोड लिएको थियो। ७२औँ मिनेटमा नेदरल्यान्ड्सका स्टार फरवार्ड कोडी गाक्पोले क्रिसेन्सियो समरभिलको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे र डच टोलीलाई १–० को अग्रता दिलाए । नेदरल्यान्ड्सको जित नजिकिँदै गर्दा इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। डिफेन्डर इसा डियोपले चेम्सडाइन ताल्बीको पासमा शक्तिशाली प्रहार गर्दै जाली चुमाए र खेल १–१ को स्थितिमा पुर्याए । त्यसपछि अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले थप गोल गर्न नसकेपछि निर्णायक पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो ।
पेनाल्टी सुटआउटको सुरुवातमा दुवै पक्षका खेलाडी चुके । मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले आफ्नो पेनाल्टीलाई गोलमा परिणत गरे। तर, नेइल एल आइनाउइको प्रहार क्रसबारमाथिबाट बाहिरियो भने कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो। नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके। डच टोलीका जस्टिन क्लुइभर्टको प्रहार पनि पोस्टमा लागेर बाहिरियो, क्विन्टन टिम्बरको बल जालीभन्दा टाढा रह्यो र निर्णायक क्षणमा क्रिसेन्सियो समरभिलको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट डाइभिङ सेभ गर्दा स्कोर ३–२ मा रोकिँएसँगै मोरक्कोले ऐतिहासिक जित हात पार्यो।
यो जितसँगै मोरक्कोले अन्तिम १६ मा क्यानडासँगको भेट पक्का गरेको छ । त्यता, विश्व वरीयताको सातैँ स्थानमा रहेको नेदरल्यान्ड्सको भने प्रतियोगिताबाट अन्तिम ३२ मै बिदाइ भएको छ । यसअघि जर्मनीलाई पनि पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वेले प्रिक्वार्टरफाइनलमा स्थान बनाएको थियो, जसले यस विश्वकपलाई अप्रत्याशित नतिजाहरूको खानीको रूपमा चित्रित गरेको छ ।































प्रतिक्रिया