मुग्लिन (चितवन) । वरण्डाभार जैविकमार्गस्थित सामुदायिक वनमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालनमा आएपछि स्थानीयमा उत्साह थपिएको छ ।
पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको हो । पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यले परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्तानले बताए ।
स्याङ्तानले भने, “यसअघि चितवन राष्ट्रिय निकुञ्जमा सीमित पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।” रत्ननगरको दक्षिण क्षेत्रभित्र पर्ने पञ्चकन्या, कालिका नगरपालिकाभित्र पर्ने चर्तुमुखी र भीमवली वनले संयुक्त रूपमा करिब ३० किलोमिटर जङ्गल मार्ग तयार पारी परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सुरु गरेको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।
नेपालमा पहिलोपटक चितवनलाई सफारी पर्यटनको राजधानी बनाउने अभियानका साथ ‘रात्रिकालीन जीप सफारी’ सुरू गरिएको सचिव सुवेदीले बताए । उनका अनुसार परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ ।
वरण्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो । प्रभावकारी संरक्षणले एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेललगायतका वन्यजन्तु देख्न सकिन्छ ।
रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले ‘रात्रिकालीन जीप सफारी’ पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
सामुदायिक वनले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जङ्गलभित्र रहेका तालतलैयाको मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटक मैत्री पूर्वाधार विकासका काम अघि बढाएका छन् ।
अभियानमा बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय चितवन र क्षेत्रीय होटल सङ्घ सौराहाको सहकार्य रहेको छ । होटल व्यवसायीले ‘रात्रिकालीन जीप सफारी’ मा पर्यटक लैजाने प्रतिबद्धता जनाएसँगै सामुदायिक वनका उपभोक्ता उत्साहित बनेका छन् ।
‘रात्रिकालीन जीप सफारी’ नियमित सञ्चालन हुँदा चितवनको बसाइँ लम्बिने, वनमा पर्यटकको आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालले बताए । पहिलो चरण यस क्षेत्रमा बेलुका ५ देखि ९ बजेसम्म ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन हुनेछ । जसका लागि प्रतिजीप रु ५०० शुल्क निर्धारण गरिएको छ ।
































प्रतिक्रिया