हुलाकलाई ‘सरकारी कुरियर’ बनाउने योजना कार्यान्वयन, ७५ जिल्लाको घरदैलोमै पुग्न थाले कागजात

हुलाकलाई ‘सरकारी कुरियर’ बनाउने योजना कार्यान्वयन, ७५ जिल्लाको घरदैलोमै पुग्न थाले कागजात

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । परम्परागत रूपमा चिठ्ठीपत्र ओसारपसारमा मात्र सीमित रहँदै आएको हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’का रूपमा रूपान्तरण गर्ने सरकारको योजनाले गति लिन थालेको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र मन्त्रालयको कार्यक्षेत्र भित्रका प्रमुख १० कार्यभित्र समेटिएको यो अभियानअन्तर्गत हालसम्म हुम्ला र भोजपुरबाहेक मुलुकका ७५ जिल्लामा हुलाकमार्फत नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउन थालिएको छ ।

नागरिकलाई पासपोर्ट, सवारी लाइसेन्स, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमको सिमकार्ड जस्ता अत्यावश्यक कागजात तथा सामग्री लिन सरकारी कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गराउन सरकारले हुलाक सेवाको आधुनिकीकरण सुरु गरेको हो । यस सेवामार्फत नागरिकहरूले आफ्नै घरमा सुरक्षित रूपमा सरकारी कागजातहरू प्राप्त गर्न थालेका छन् भने स्वास्थ्य जाँचका लागि दुर्गमबाट संकलित नमुनाहरू समेत परीक्षणका लागि प्रयोगशालासम्म सुरक्षित ढंगले ढुवानी हुन थालेका छन् ।

हुलाक सेवालाई छिटो-छरितो बनाउन केन्द्रीय डाँकरेखा पुनरावलोकन समितिले २०८३ वैशाख ३० गते गरेको निर्णयानुसार नयाँ डाँकरेखा स्वीकृत भएसँगै सेवा प्रवाहको समय र लागतमा उल्लेख्य गिरावट आएको छ । यसअघि पोखराबाट पाल्पासम्म हुलाक वस्तु पुग्न १० दिन लाग्ने गरेकोमा नयाँ व्यवस्था लागू भएपछि हाल सोही रुटमा मात्र २ दिनभित्रै सामान पुग्ने गरेको छ, जसले हुलाकको विश्वसनीयता बढाएको छ ।

अहिलेसम्म भएको प्रगति विवरण अनुसार सम्झौता भएका ७५ जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्ला हुलाक कार्यालयहरूमा प्राप्त हुन आएका २ लाख ६ हजार ३ सय ३० थान राहदानी मध्ये ५ हजार ७ सय २८ थान राहदानी सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्‍याइसकिएको छ । यसैगरी, यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ३१ वटा सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म पुर्‍याइएको छ ।

यातायात कार्यालयहरूसँगको समन्वयमा कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा घर-घरमै पुर्‍याउने कार्य अन्तर्गत १ हजार ८९ वटा सवारी चालक अनुमति पत्र सम्बन्धित व्यक्तिसम्म ढुवानी गरिएको छ ।

नागरिकको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि हुलाकले सहजीकरण गरिरहेको छ । सम्झौता भएका १७ वटा अस्पतालहरूबाट हालसम्म प्राप्त १ हजार २ सय ३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुनाहरू परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म सुरक्षित ढुवानी गरिएको छ । साथै, त्रिभुवन विश्वविद्यालयसँग भएको सम्झौताबमोजिम हालसम्म विभिन्न जिल्लाका २६३ थान शैक्षिक प्रमाणपत्रहरू विद्यार्थीको तोकिएको ठेगाना वा जिल्लासम्म सफलतापूर्वक ढुवानी भइसकेका छन् ।

Logo