काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा आयोजित एक विशेष समारोहका बीच उक्त प्रतिष्ठित अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्ने थप जिम्मेवारी प्रदान गरेको बताए । उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुनुहुने बीमित ग्राहकहरूप्रति हार्दिक आभार व्यक्त गरे ।
तथ्याङ्कअनुसार कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ। रु. २ खर्ब ६७ अर्बभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म रु. १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरी आफ्ना बीमित तथा आश्रित परिवारप्रति आफ्नो प्रतिबद्धता व्यवहारमै प्रमाणित गरेको छ।






























