माथिल्लो स्तरको खेल प्रदर्शन गरिरहेको फ्रान्स

माथिल्लो स्तरको खेल प्रदर्शन गरिरहेको फ्रान्स

केन्द्रबिन्दु
9
Shares

लस एन्जलस । विश्वकप २०२६ सुरु हुनु अगाडि नै फ्रान्सको छवि सम्भावित च्याम्पियन टिमको थियो। अहिलेसम्मको प्रदर्शनमा आधारमा भन्दा फ्रान्सको परिचय त्योभन्दा माथिको बनेको छ।

फ्रान्सको स्तर नै माथिल्लो स्तरमै देखिएको छ। फ्रान्सको अहिलेसम्मको यस्तो प्रदर्शन पछाडि कप्तान केलियन एमबाप्पेको सानदार गोल जति जिम्मेवार छ। माइकल ओलिसको सिर्जनात्मक खेलले पनि उत्तिकै ठूलो भूमिका खेलिरहेको छ।

प्रशिक्षक डिडियर डेसच्याम्पले पछिल्ला केही वर्षमा अनेक प्रकारको परीक्षण गरेका छन्। अन्ततः यी प्रशिक्षक आफ्ना खास केही प्रमुख खेलाडीबारे ढुक्क छन्। तिनलाई उनले महत्त्वपूर्ण जिम्मेवारी दिएका छन्। फ्रान्सको फेरि एकपल्ट उपाधि जित्ने धोको यिनै आक्रामक खेलाडीले पूरा गर्न सक्नेछन् । प्रतियोगिता जति–जति अगाडि बढ्ने छ, को कहाँ भन्ने समीकरण फेरिँदै जानेछ र नयाँ पनि बन्न सक्नेछ।

अहिलेसम्म फ्रान्सको प्रदर्शन वास्तवमै अरूको तुलनामा धेरै अगाडि छ। यसमा ओलिसले गाढा छाप छोड्ने काम गरिरहेका छन्। न्यु जर्सीमा अन्तिम ३२ को बुधबार भएको खेलमा फ्रान्सले स्विडेनमाथि सजिलै ३–० ले विजय नतिजा निकाल्यो। फ्रान्सले प्रस्तुत गरेको फुटबल आफैंमा रोमाञ्चक रह्यो। अहिलेसम्म खेलेका चार खेलमा विजयी फ्रान्सले १३ गोल गरिसकेको छ।

अब अन्तिम १६ मा फ्रान्सको भेट पाराग्वेसँग हुनेछ। फ्रान्सले अहिलेसम्म गरेका गोलमा ओलिसको नाम भने छैन, तर स्विडेनविरुद्ध गरेको दुई गोलपछि एमबाप्पेको यस विश्वकपमा कुल गोलसंख्या नै ६ पुगिसकेको छ। त्यस खेलमा एक अर्को गोल ब्राडली बार्कोलाले गरेका थिए। यस्तै बालोन डी’अर विजेता ओसमन डेम्बेलेले ४ र डिजायर डोउले एक गोल गरेका छन्।

यति भन्दाभन्दै पनि स्विडेनविरुद्ध ओलिसको खेल अब्बल रह्यो। फ्रान्सका गोलमध्ये दुईमा उनको सहयोगी भूमिका रह्यो। उनी यस विश्वकपमा गोलका लागि अवसर सिर्जना गर्ने खेलाडी सूचीमा सबैभन्दा अगाडि छन्। यी बायर्न म्युनिख खेलाडी स्विडेनविरुद्ध आफ्नो लगभग निश्चित गोल नजिक भने पुगेका छन्, जतिबेला उनको बाइसाइकल किक पोस्टमा लागेको थियो।

एमबाप्पे आफै ओलिसको खेलबाट प्रभावित छन्। उनी भन्छन्, ‘उनको खेल कौशलता आफैमा उत्कृष्ट छ। तर त्यस बाइसाइकल किकमा गोल भने भएन। खासमा दर्शक रंगशाला आउने भनेकै यस्ता खेल हेर्नका लागि हो।’

अहिले फ्रान्सले जुन लोभलाग्दो फुटबल खेलिरहेको छ, त्यो प्रशिक्षकका रूपमा डेसच्याम्पको १४ वर्षको कार्यकालको अन्तिम मोड पनि हो। यस्तो शैलीको फुटबल धेरै हदसम्म गत वर्षको नेसन्स लिग क्वाटरफाइनलयता सुरु भएको हो, जतिबेला फ्रान्स क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध पहिलो लेगको खेलमा २–० ले पराजित रह्यो। त्यति बेला डेसच्याम्पले एउटा ठूलो बहादुरीपूर्ण निर्णय गरे, आफ्ना तीन डिफेन्सिभ मिडफिल्डरमध्ये एकलाई झिक्ने र त्यसको स्थानमा थप एक फरवार्डलाई खेलाउने।

ओलम्पिक फुटबलमा राम्रो खेलेपछि ६ महिनाको अन्तरमा राष्ट्रिय टिममा परेका थिए । उनको भूमिका थियो, एमबाप्पेको पछाडि नम्बर १० खेलाडीका रूपमा खेल्ने। दोस्रो लेगमा ओलिसले फ्रिकिकमा उत्कृष्ट गोल पनि गरे र फ्रान्स पुनरागमन जित रच्न सफल रह्यो। त्यसपछि त के चाहियो र, उनी बायर्नमा जस्तै फ्रान्सेली टिमका नियमित खेलाडी बने।

बायर्नले घरेलु लिग र कप जित्दा अनि च्याम्पियन्स लिग सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार्दा पनि उनले २२ गोल गरे। यो त पूरा सिजनको उत्कृष्ट खेल प्रदर्शन हो।

विश्वकपको ठीक अगाडि उत्तरी आयरल्यान्डमाथि प्राप्त ३–१ जितमा ओलिसले ह्याट्रिक पनि गरेका थिए। डेसच्याम्प भन्छन्, ‘ओलिसका लागि पछिल्लो सिजन असाध्यै राम्रो रह्यो।’ उनी थप्छन्, ‘उनलाई अझै केही समय चाहिने छ, आफूलाई विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गर्न। उल्लेखीय कुरा के छ भने जति बेला उनको नियन्त्रणमा बल हुनछ, केही हुन्छ जस्तो लाग्छ।’

टिमका लागि यति महत्त्वपूर्ण खेलाडी भएता पनि डेसच्याम्पलाई के थाहा छ भने ओलिस कम बोल्ने खालका छन्। उनको जन्म लन्डनमा भएको हो, नाइजेरियाली बुबा र फ्रान्सेली–अल्जेरियाली आमाबाट।

उनी आफैं फ्रान्सेली भाषा पनि बोल्न सक्दैनन्। डेसच्याम्पको अनुभव छ, ‘ओलिस केही अन्तरमुखी छन्। खुसी के तथ्यमा छ भने कम्तीमा मैदानमा भने उनी यस्ता छैनन्।’ मिडियासामु बिरलै मात्र अन्तर्वार्ता दिने ओलिसको फ्रान्सेली भाषाको कमजोरीले पनि खासै अर्थ राखेको छैन।

उनी चेल्सी एकेडेमीका पूर्व खेलाडी हुन् र हुर्केबढेको भने रिडिङमा हो। सन् २०२१ मा उनी क्रिस्टल प्यालेससँग आबद्ध भए। दक्षिण लन्डनमा रहेको बेला प्रिमियर लिगमा धेरैले उनको खेलमा हेक्का राख्न सुरु गरेको थियो।

सन् १९९८ का फ्रान्सका लागि विश्वकप जित्दाकै खेलाडी प्याट्रिक भिएरा छँदै उनले प्यालेसका लागि डेब्युको अवसर पाए। भिएरा उनलाई भविष्यका बालोन डी’अर विजेता खेलाडीको रूपमा चित्रण गर्छन्। उनी भन्छन्, ‘यो विश्वकप नै उनका लागि ठूलो अवसर हुनेछ, अहिलेजस्तै राम्रो खेलिरहने हो भने।’ यता एमबाप्पेका लागि भने यो प्रतियोगिता राम्रो गइरहेको छ।

यसैक्रममा उनी विश्वकप इतिहासमा नटआउट चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन्। उनले नकआउट चरणमा गरेको गोलसंख्या १० पुगेको छ । त्यो स्विडेनविरुद्ध गरेको दुई गोलसँगै हो। यसअघि उनी ८ गोलको कीर्तिमानको बराबरीमा थिए, जतिबेला यत्तिकै गोल ब्राजिलका दुई पुरानोखेलाडीको नाममा थियो। ती लियोन्डास डा सिल्भा र रोनाल्डो नाजारियो। पेलेले पनि विश्वकपको नकआउट चरणमा सात गोल मात्रै गरेका छन्। नकआउट चरणमा उनले सन् २०१८ मा ३ र सन् २०२२ मा ५ गोल गरेका थिए।

रुसमा भएको विश्वकपमा एमबाप्पेले अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका थिए भने फाइनलमा क्रोएसियाविरुद्ध एक। कतारमा भने अन्तिम १६ को चरणमा पोल्यान्डविरुद्ध २ गोल गरेपछि उनले अजेन्टिनाविरुद्ध फाइनलमै अविश्वसनीय ह्याट्रिक गरेका थिए। तर त्यतिबेला फ्रान्सले उपाधि जित्न भने सकेन। टोली पेनाल्टी शुटआउटमा पराजित रह्यो। यसपल्ट एमबाप्पेसामु यस्तै हारको बदला लिने अवसर छ।

प्रशिक्षक डेसच्याम्प टिमको समग्र प्रदर्शनमा उत्तिकै खुसी छन्। उनी भन्छन्, ‘यो टिमले अहिले एकजुट भएर खेलिरहेको छ। जति बेला टिमले एक ढिक्का भएर खेल्छ, प्रदर्शन नै अलग्गै स्तरमा पुग्ने गर्छ।’

एमबाप्पेको यो विश्वकपमै पनि कुल गोल संख्या ६ पुगेको छ। उनी लियोनल मेसीसँगै सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा सबैभन्दा अगाडि छन्।

भिएराको थप भनाइ छ, ‘अहिलेको विश्वकपमा कुनै एक टिमलाई हराउन कसैलाई पनि सबैभन्दा गाह्रो हुन्छ भने त्यो फ्रान्सविरुद्ध हुनेछ। यो प्रतियोगितामा अहिलेसम्मको खेल हेर्दा फ्रान्स नै उपाधिको सबैभन्दा बलियो प्रत्याशीका रूपमा अगाडि आएको छ। फ्रान्सले अहिले जसरी खेलिरहेको छ, त्यसले सिर्जना गर्ने आक्रमण रोक्न गाह्रो नै छ।’एएफपीबाट

Logo