जेलेन्स्कीले चेतावनी दिएको केही घण्टामै युक्रेनमा शक्तिशाली विस्फोट

जेलेन्स्कीले चेतावनी दिएको केही घण्टामै युक्रेनमा शक्तिशाली विस्फोट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातभर ठूलो आक्रमण गर्ने योजना बनाएको गुप्तचर तथ्यांकले देखाएको चेतावनी दिएको केही घण्टामै युक्रेनमा शक्तिशाली विस्फोट भएको छ ।

बिहीबार रातभर युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटका घटनाहरू भएका छन् । रुसले युक्रेनका विभिन्न क्षेत्रमा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरिरहेको किभका अधिकारीहरू र युक्रेनी वायुसेनाले जनाएको छ । आक्रमणका कारण आवासीय भवनहरू ध्वस्त भएका छन् । विभिन्न स्थानमा आगलागी भएको सीएनएनले उल्लेख गरेको छ ।

सहरका मेयर भिटाली क्लित्स्कोका अनुसार एम्बुलेन्स सबस्टेसनमा भएको आक्रमणमा कम्तीमा पाँचजना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइतेमध्ये एक स्वास्थ्य सहायकको अवस्था चिन्ताजनक रहेको उनले बताएका छन् । क्लित्स्कोका अनुसार मानिस थुनिएको आशंका गरिएको एउटा ध्वस्त नौतले भवनमा उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।

आक्रमणपछि धेरै स्थानीय बासिन्दाले मेट्रो स्टेसनहरूमा शरण लिइरहेका बताइएको छ । यसअघि राष्ट्रपति जेलेन्स्कीले चेतावनी दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समयदेखि युक्रेनविरुद्ध ठूलो आक्रमणको तयारी गरिरहेका भनेका थिए ।

जेलेन्स्कीले युक्रेनी नागरिकहरूलाई विशेष सतर्क रहन, सुरक्षित स्थानमा बस्न, आफ्ना परिवार र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा हवाई आक्रमणको चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेका छन् ।

Logo