काठमाडौं । कन्टेन्ट क्रियसन अब कुनै सामान्य सोख वा टाइमपासको माध्यम मात्र रहेन, यो अहिले हलिउडलाई नै टक्कर दिने अर्बौं डलरको सो बिजनेस बनिसकेको छ।
हालै प्रकाशित फोर्ब्स टप क्रियटर्स २०२६ को सूचीले यसलाई प्रमाणित गरेको छ। फोर्ब्सले यो र्याङ्किङ क्रियटरहरूको कुल कमाइ, फलोअर सङ्ख्या, इन्गेजमेन्ट रेट र उनीहरूको व्यापारिक उद्यमशीलताको आधारमा तयार पार्ने गर्छ, त्यसैले कमाइ थोरै हुने क्रियटर पनि धेरै प्रभावका कारण माथिल्लो र्याङ्कमा पर्न सक्छन्।
एकातिर अमेरिकाको लस एन्जलसमा चलचित्र उद्योग (हलिउड) मा काम गर्ने मानिसहरूको सङ्ख्या ऐतिहासिक रूपमा घटेको छ भने अर्कोतिर क्रियटरहरू बक्स अफिसमा हलिउडलाई नै उछिन्दैछन्।
उदाहरणका लागि, केन पार्सन्सको हरर वेब सिरिजमा आधारित फिल्म ‘ब्याकरुम्स’ जम्मा १० मिलियन डलरमा बनेर २६० मिलियन डलरभन्दा बढी कमाउन सफल भयो। त्यस्तै, ७ लाख ५० हजार डलर बजेटमा बनेको ‘अब्सेसन’ ले २९० मिलियन डलरभन्दा बढीको व्यापार गर्यो।
फोर्ब्सको ५ वर्षे इतिहासमा पहिलोपटक टप ५० क्रियटरहरूको कुल कमाइले १ अर्ब डलरको आँकडा पार गर्दै १.०२ अर्ब डलर (करिब १ खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) पुगेको छ। यो गत वर्षको ८५३ मिलियन डलरको तुलनामा २० प्रतिशतले बढी हो।
१. मिस्टर बिस्ट (जिमी डोनाल्डसन)
लगातार पाँचौँ वर्ष फोर्ब्सको सूचीमा नम्बर १ स्थान ओगट्न सफल मिस्टर बिस्ट युट्युबका सबैभन्दा ठूला स्टार हुन्। उनी ठूला र खर्चिला स्टन्टहरू, च्यालेन्जहरू र विशाल परोपकारी कार्यहरूका लागि चर्चित छन्।
युट्युब स्टन्टलाई ग्लोबल प्रोडक्सन स्टुडियोमा परिणत गरेका जिमी डोनाल्डसन युट्युबका बादशाह हुन्। उनका युट्युब च्यानलहरूमा ६४ करोडभन्दा बढी सस्क्राइबर छन् र वार्षिक ५ अर्बभन्दा बढी भ्युज आउँछ।
उनी अब एक युट्युबर मात्र नभएर सिङ्गो मिडिया साम्राज्य चलाउँछन्। उनको कमाइ युट्युबको विज्ञापन, प्रायोजक, उनको आफ्नै स्न्याक ब्रान्ड (फिस्टेबल्स), लञ्च्ली र अमेजन प्राइममा आउने ‘बिस्ट गेम्स’ जस्ता ठूला प्रोजेक्टहरूबाट हुन्छ।
फेब्रुअरी २०२६ मा उनले किशोरकिशोरीहरूलाई लगानी र सम्पत्ति व्यवस्थापन सिकाउने एप ‘स्टेप’ खरिद गर्दै पर्सनल फाइनान्सको क्षेत्रमा पाइला राखेका छन्। अनुमानित कमाइ : ३०० मिलियन डलर (करिब ४० अर्ब नेपाली रुपैयाँ)
२. धर मान
भारतीय मूलका धार मान एक कथाकार हुन् जसले जीवनोपयोगी र प्रेरणादायी छोटा फिल्महरू बनाउँछन्। उनी ‘धर मान स्टुडियोज’ का संस्थापक हुन्, जहाँ २०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। उनका भिडियोहरू १३ वटा भाषाहरूमा अनुवाद हुन्छन् र हप्तामै करिब ३० करोड भ्युज बटुल्छन्।
युट्युब एड रेभिन्युका साथै एडोबी, एनएफएल जस्ता ठूला ब्रान्डहरूसँगको कर्पोरेट पार्टनरसिप र टेलिभिजन नेटवर्कहरूसँगको सम्झौताबाट उनको मुख्य कमाइ हुन्छ। फक्स इन्टरटेनमेन्टसँग १८ महिनाभित्र ४० वटा भर्टिकल ड्रामाहरू बनाउने सम्झौता गरेका छन्। उनको अनुमानित कमाइ ६५ मिलियन डलर रहेको छ ।
३. स्टिभन बार्टलेट
स्टिभन एक सफल उद्यमी र चर्चित पोडकास्ट ‘द डायरी अफ अ सीईओ’ का सञ्चालक हुन्।होस्ट स्टिभनले आफ्नै भान्साबाट सुरु गरेको अन्तर्वार्ता शोलाई अहिले ४२५ मिलियन डलरको होल्डिङ कम्पनी ‘Steven.com’ मा परिणत गरेका छन्। उनले सीईओ, वैज्ञानिक, खेलाडी र चर्चित व्यक्तिहरूसँग लामा र गहन अन्तर्वार्ताहरू गर्छन्।
उनको अडियो ब्रोडकास्टिङ र भिडियो पोडकास्ट विश्वभर निकै सुनिन्छ। विज्ञापन, प्रायोजन, र पोडकास्टलाई नै एक ठूलो मिडिया बिजनेसमा परिणत गरेर उनले यो आम्दानी गर्छन्। ‘ड्र्यागन्स डेन’ को छैटौँ सिजनमा उनी लगानीकर्ता (जज) को रूपमा फर्केका छन्। उनको अनुमानित कमाइ ५२ मिलियन डलर रहेको छ ।
४. मार्किप्लायर (मार्क फिसब्याक)
एक दशकभन्दा बढी समयदेखि गेमिङ युट्युबको दुनियाँमा राज गरिरहेका मार्क पछिल्लो समय स्वतन्त्र फिल्म निर्माण र हरर फिल्महरू बनाउन व्यस्त छन्। उनी अहिले कन्टेन्ट र हलिउडलाई जोड्ने काम गरिरहेका छन् । गेमिङ भिडियोहरू, ब्रान्ड डिल, पोडकास्ट, मर्चेन्डाइज (लुगाफाटा बिक्री) र आफ्नै फिल्म निर्माणबाट उनको कमाइ हुन्छ।
उनले आफ्नै लगानीमा बनाएको फिचर फिल्म ‘आइरन लङ’ उत्तर अमेरिकाका ३,००० हलहरूमा रिलिज भयो र बक्स अफिसमा ५० मिलियन डलर कमायो । यसमा हल र उनको ५०/५० प्रतिशतको सेयर थियो। उनको अनुमानित कमाइ ३८ मिलियन डलर रहेको छ ।
५. रेट र लिङ्क
रेट र लिङ्क एक कमेडी जोडी हुन् जो सन् २०१२ देखि दैनिक युट्युब शो ‘गुड मिथिकल मर्निङ’ सञ्चालन गर्दै आएका छन्। यसका वार्षिक २४० एपिसोडहरू सुट हुन्छन्। उनीहरूका करिब २ करोड दर्शक छन्।
उनीहरूले ‘मिथिकल इन्टरटेनमेन्ट’ नामक आफ्नै स्टुडियो नेटवर्क खडा गरेका छन्। दैनिक भिडियोहरू, विभिन्न ब्रान्डहरूसँगको सहकार्य र प्रोडक्सन कम्पनीको माध्यमबाट उनीहरूले यो सम्पत्ति जोडेका हुन्। उनको अनुमानित कमाइ ३७ मिलियन डलर रहेको छ ।
६. चार्ली डामेलियो
टिकटकमा डान्स भिडियोहरूबाट भाइरल भएकी चार्ली अहिले एक इन्टरटेनर र फेसन पर्सनालिटी बनिसकेकी छन्। उनी प्राडाकी एम्बेसडर हुन्।उनको कमाइ तलका क्रियटरहरूको भन्दा कम भए पनि प्रभावका कारण उनी छैटौँ स्थानमा छिन्। उ
नले ठूला फेसन ब्रान्डहरूसँगको सम्झौता, आफ्नै फेसन लाइन, र विभिन्न मनोरञ्जनात्मक प्रोजेक्टहरूबाट आम्दानी गर्छिन्। ब्रोडवे पछि उनी पुनः आफ्ना चर्चित डान्स भिडियोहरू र युट्युब भ्लगहरूमा फर्किएकी छन्। उनको अनुमानित कमाइ १८ मिलियन डलर रहेको छ ।
७. ड्रस्की (ड्रिउ डेसबोर्डेस)
ड्रस्की एक चर्चित स्केच कमेडियन हुन्, जो आफ्नो अनस्क्रिप्टेड कमेडी र ‘कुडा बिन रेकर्ड्स’ नामक काल्पनिक रेकर्ड लेबलका लागि भाइरल छन् । इन्टरनेटको भाइरल कमेडीलाई उनले कर्पोरेट भेन्चरमा बदलेका छन्। ब्रान्ड डिल, एक्टिङ, र लाइभ शोहरूबाट उनले यो आम्दानी गर्छन्।
हलिउड स्टारहरू (जस्तै: केभिन हार्ट, टिमोथी चालमेट) सँगको सहकार्य, ब्रान्ड डिल र होस्टिङबाट उनी कमाउँछन्। यसै जुन महिनामा उनले प्रतिष्ठित ‘BET Awards’ को होस्टिङ गरेका थिए। उनकव अनुमानित कमाइ २० मिलियन डलर रहेको छ ।
८. आई सो स्पीड (ड्यारेन जेसन वाटकिन्स जूनियर)
स्पिड एक लाइभ-स्ट्रिमिङ सेन्सेसन हुन्, जो गेमिङ र फुटबल सम्बन्धी कन्टेन्ट (विशेष गरी क्रिस्टियानो रोनाल्डोको फ्यानको रूपमा) बनाएर विश्वभर चर्चित छन्।
उनको आम्दानी कुनै एउटा ठूलो काम वा सम्झौताबाट मात्र हुँदैन। युट्युबको विज्ञापन, लाइभ स्ट्रिममा आउने विशाल डोनेसन र विश्वभर गरिने टुर्स (जस्तै २०२६ को वर्ल्ड कपको समयको स्ट्रिमिङ) बाट उनी करोडौँ कमाउँछन्। उनको अनुमानित कमाइ ३० मिलियन डलर रहेको छ ।
९. मार्क रोबर
नासाका पूर्व इन्जिनियर मार्क रोबर अहिले विज्ञान र इन्जिनियरिङलाई रमाइलो तरिकाले सिकाउने भिडियोहरू बनाउँछन्। उनलाई सोसल मिडियाका ‘म्याड साइन्टिस्ट’ भनिन्छ। युट्युबका भाइरल भिडियोहरू, प्रायोजन, र बालबालिकाका लागि लक्षित शैक्षिक इन्जिनियरिङ किटहरूको व्यापारबाट उनले मनग्य कमाउँछन्।
रिभियन, गुगल र डिज्नी जस्ता ब्रान्डहरू उनको शैक्षिक कन्टेन्टमा आकर्षित छन्। उनको कम्पनी ‘CrunchLabs’ ले साइन्स किटहरू बेच्छ। यसै वसन्त ऋतुमा उनले अमेरिकाको स्टेम शिक्षा प्रणालीलाई ऊर्जावान बनाउने योजनाबारे टेड टक पनि दिएका थिए। उनको अनुमानित कमाइ ३० मिलियन डलर रहेको छ ।
१०. कोडी सान्चेज
पूर्व पत्रकार कोडी सान्चेज अहिले साना व्यवसायहरू किन्ने, लगानी गर्ने र वित्तीय शिक्षा दिने विषयमा कन्टेन्ट बनाउँछिन्। उनले फाइनान्सियल आर्किटेक्चर, साना व्यवसायहरूमा लगानी, न्युजलेटर सञ्चालन र वित्तीय शिक्षाका विभिन्न कोर्स र परामर्शबाट आफ्नो साम्राज्य खडा गरेकी हुन्।
साना व्यवसायहरूबारे दिने टिप्स, वित्तीय शिक्षाका कोर्सहरू, र लगानी सम्बन्धी परामर्शमार्फत उनी टिकटक, इन्स्टाग्राम र युट्युबका आफ्ना करोडौं फलोअरहरूबाट मनग्य आम्दानी गर्छिन् । उनको अनुमानित कमाइ ३१ मिलियन डलर रहेको छ ।
































