गाजा युद्ध १००० दिनमा, प्यालेस्टिनीहरुको भविष्य अनिश्चित

गाजा युद्ध १००० दिनमा, प्यालेस्टिनीहरुको भविष्य अनिश्चित

केन्द्रबिन्दु
6
Shares

कायरो । हमासले इजरायलमा ७ अक्टुबर २०२३ मा झन्डै १२ सय सर्वसाधारणको ज्यान जानेगरी घातक आक्रमण गरेको थियो । त्यसको भोलिपल्टै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध युद्ध घोषणा गरे ।

यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको शृंखला सुरु भयो । बिहीबार गाजामा युद्ध सुरु भएको १ हजार दिन भयो । र, यसको मूल्य सर्वसाधारणले चुकाउनुपरेको छ । यस अवधिमा पटक–पटक दुबै पक्षले युद्धविराम गरेपनि त्यसको कुनै प्रभाव देखिएको छैन ।

गाजामा रहेका २० लाखभन्दा बढी प्यालेस्टाइनीहरूको भाग्य अनिश्चित बनेको छ । ठूलो संख्यामा मानिसहरु भग्नावशेषहरूबीच बाँच्न बाध्य छन् । बिस्थापित हुनेहरुको संख्या पनि ठूलो छ । पछिल्लोपटक १० अक्टोबर २०२५ मा इजिप्ट र अमेरिकाको मध्यस्थतामा हमास र इजरायलबीच वार्ता भएको थियो ।

त्यसबेला हमासले हतियार त्याग्ने र इजरायलले कब्जामा लिएर भूभागबाट सेना फिर्ता गर्ने सहमति भएको थियो । त्यसैगरी, इजरायलले बन्दी बनाएका प्यालेस्टिनी र हमासले बन्दी बनाएका इजरायलीलाई रिहा गर्ने सहमति पनि भएको थियो । गाजापट्टीमा मानवीय सहयोग बढाउने विषयमा पनि दुई पक्षबीच सहमति भयो ।

त्यसैगरी, गाजाको पुननिर्माणका लागि योजना बनाउने सहमति पनि भएको थियो । तर, बन्दी आदनप्रदान र गाजाको पुननिर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा बोर्ड गठनबाहेक अन्य शर्तहरु पालना भएनन् ।

गाजामा झन्डै आधा भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको इजरायली सेनाले त्यसलाई निरन्तर बिस्तार गरिरहेको छ । झन्डै ७० प्रतिशत भूभाग कब्जामा लिने उसको लक्ष्य छ ।

गाजामा थोरै मानिसमात्र भित्र आउन वा बाहिर जान सक्छन् । ‘गाजालाई सामान्य अवस्थामा फर्काउनका लागि धेरै काम गर्न बाँकी छ । तर, अहिले हामी त्यो अवस्थामा पुगिसकेका छैनौं,’रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक निकोलस भोन अर्कसले यसै साता भनेका थिए ।

युद्धविराम लागू भएदेखि इजरायली आक्रमणहरू घटेका छन् । तर, रोकिएका छैनन् । झन्डै दैनिक रुपमै आक्रमण चलेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता गत मंगलबारसम्म १,०५३ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

३५० भन्दा बढी महिला र बालबालिको नाम यस सुचीमा समावेश छ । केही दिनअघिमात्रै विद्यालय जाँदै गरेकी एक किशोरी र आफ्नी १ वर्षकी छोरीसँगै एक आमाको आक्रमणमा मृत्यु भयो ।

‘उनीहरूले बारम्बार भनेको युद्धविराम कहाँ छ ? उनीहरूलाई लाज लाग्नुपर्छ,’ एक प्यालेस्टाइनी महिला, विसाल अबु खातेरले भनिन् । उनले गाजाका जनतालाई सहयोग गर्नुको साटो अरब देशहरु विश्वकप फुटबलका खेल हेर्न व्यस्त रहेको बताइन् ।

मन्त्रालयका अनुसार युद्धविराम भएयता ३,४०० भन्दा बढी मानिस घाइते भएका छन् । यस मन्त्रालय हमासको नेतृत्वको नियन्त्रणमा सञ्चालित छ र यसले राख्ने अभिलेखलाई संयुक्त राष्ट्र संघका एजेन्सीहरू र स्वतन्त्र विज्ञहरूले सामान्यतया विश्वसनीय मान्ने गरेका छन् ।

मन्त्रालयले सर्वसाधारण र लडाकुहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्दैन । तर ज्यान गुमाउनेहरूमध्ये मृतकमध्ये ठूलो संख्या महिला र बालबालिका रहेको जनाएको छ ।

इजरायली सेनाले आफूले हमास र अन्य लडाकुहरूलाई निशाना बनाउने दाबी गर्दै आएको छ । अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा १२ सयजनाको मृत्यु हुनेगरी भएको आक्रमणमा करिब २५१ जनालाई बन्धक बनाइएको थियो । युद्धविरामपछि दुबै पक्षले बन्दीहरुलाई रिहा गरेका छन् ।

मृतकको शव पनि हस्तान्तरण गरिसकेका छन् । केही बन्धकहरूले आफूमाथि भएका दुव्र्यवहारहरूको विवरण सार्वजनिक गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको जवाफी कारबाहीमा २०२३ देखि गत मंगलबारसम्म कुल ७३,०६६ प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ ।

युद्धविरामको रेखदेख गरिरहेका शीर्ष कूटनीतिज्ञ निकोले म्लादेनोभका अनुसार हमासको निशस्त्रीकरणजस्ता जटिल मुद्दाका कारण युद्धविरामको समय भएका सम्झौताहरुको कार्यान्वयन ठप्प छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १७ जनवरी २०२६ मा आफ्नो नेतृत्वमा गाजामा ‘बोर्ड अफ पिस’ गठन गरेका थिए । अर्बौंको लगानी ल्याएर गाजामा अत्याधुनिक शहर निर्माण गर्ने यस बोर्डको लक्ष्य छ । तर इजरायल–हमासबीचको तनाव जारी रहेकाले यसको कार्यान्वयन अनिश्चित बनेको छ । पछिल्लोपटक यस बोर्डले कुनै पनि कार्यक्रम सार्वजनिक गरेको छैन ।

हमासको निशस्त्रीकरणपछि गाजामा नयाँ प्रशासन गठन गरिने, सुरक्षा तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय सुरक्षा फौज परिचालन गरिनेलगायत विषय युद्धविराम सम्झौतामा उल्लेख थियो । हमासले निशस्त्रीकरणलाई पूर्ण रूपमा अस्वीकार गरेको छैन । तर, केही हतियारहरू आफूसँगै राख्न चाहेको संकेत गरेको छ ।

गाजा र त्यसपछि पश्चिम एसियामा जारी युद्धहरुका कारण इजरायल आफैं पनि समस्यामा छ । पछिल्ला दिनहरुमा लेबनानको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह, यमनको इरान समर्थित हुथी विद्रोही र इरान आफैंले पनि इरायललाई निशानामा राखेको छ ।

इरानका सशस्त्र छद्म समुहहरुले प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धता जनाउँदै आएका छन् । नेतान्याहुले फेब्रुअरी २८ मा अमेरिकासँग मिलेर इरानमाथि संयुक्त रूपमा आक्रमण गरेको थियो । त्यसपछि लेबनानको हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण गर्यो । यसले लेबनानमा द्वन्द्वलाई फेरि ब्युँताइदियो । अहिले इजरायली सेनाले लेबनानमा ठूलो भूभाग कब्जा गरेको छ । तर, कुनै पनि मोर्चा पूर्ण रूपमा शान्त छैन ।

इजरायली सैनिकहरूको बढ्दो मृत्यु, लेबनानसँगको इजरायली सीमामा जारी आक्रमणहरू, गाजामाथि गरिएको आक्रमणको अन्तर्राष्ट्रिय विरोधलगायतले नेतान्याहुको छविमै दाग लागेको छ । यसै वर्ष अक्टुबरको अन्त्यमा इजरायलमा संसदीय चुनाव हुँदैछ ।

सर्वेक्षणहरुका अनुसार ६० प्रतिशत जनताहरु प्रधानमन्त्रीमा नेतान्याहू दोहोरिएको हेर्न चाहर्दैनन् । नेतान्याहू सरकारको कमजोरीकै कारण ७ अक्टुबरमा आक्रमण भएको, सुरक्षा कमजोरीबारे छाविन गर्न सरकारले आयोग समेत गठन नगरेको र नेतान्याहूका उग्र दक्षिणपन्थी सत्ता साझेदारहरुले उपभोग गरिरहेको सेवा–सुविधा र छुटले जनताहरु आक्रोशित भएका छन् ।

गाजाका प्यालेस्टाइनीहरू आफ्नो सहनशीलता अन्तिम अवस्थामा पुगिसकेको बताउँछन् । उनीहरुमध्ये कोही आधारभूत सुविधाहरू समेत नभएका त्रिपालमुनी बसिकेका छन् । कोही बमले ध्वस्त भएका भवनका भग्नावशेषमै आश्रय लिइरहेका छन् । यससँगै दैनिक रुपमा उनीहरुले इजरायली ड्रोनको आवाज र आक्रमणको त्रस खेपिरहेका छन् ।

औषधि र इन्धनजस्ता मानवीय सहायताका सामाग्रीमा युद्धपछि व्यापक वृद्धि हुने अनुमान लगाइएको थियो । तर, सहायता समूहहरू र अन्य सरोकारवालाहरू त्यस्तो अवस्था अहिले नरहेको बताउँछन् । गाजाका सबै सीमा–नाकाहरू अझै पनि इजरायलले कडा रूपमा नियन्त्रण गरेको छ । कतिपय अवस्थामा ती पूर्ण रूपमा बन्द समेत गरिन्छन् । १७ वटा अस्पतालहरू अझै सञ्चालनमा आउन नसकेको गत महिना संयुक्त राष्ट्र संघले जनाएको थियो ।

Skip This
Skip This
Logo