जब्बर पाराग्वेसँग दाबेदार फ्रान्सको प्रि-क्वाटरफाइनल भिडन्त

जब्बर पाराग्वेसँग दाबेदार फ्रान्सको प्रि-क्वाटरफाइनल भिडन्त

केन्द्रबिन्दु
15
Shares

फिलाडेल्फिया । केलियन एमबाप्पेको फ्रान्सले यस विश्वकप फुटबलमा असाधारण प्रदर्शन गरिरहेको छ। फ्रान्स शनिबार (नेपाली समयअनुसार आइतबार) अन्तिम १६ को खेलमा पाराग्वेलाई पराजित गर्दै क्वाटरफाइनलतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।

एमबाप्पे र उपाधिको प्रवल दावेदार फ्रान्सलाई फिलाडेल्फियाको मौमसले भने रोक्न सक्छ, जहाँ उच्च आद्रता र आँधीतुफान आउने सम्भावित खतरा देखिएको छ। जुलाई ४ को ऐतिहासिक दिन यो खेल हुन गइरहेको छ, जुन अमेरिकाको स्वतन्त्रा दिवस पनि हो।

फ्रान्सले सन् २०१८ मा रुसमा उपाधि जितेपछि २०२२ मा अर्जेन्टिनासँग फाइनलमा पेनाल्टीमा पराजित भएको थियो। फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने तेस्रो टोली बन्ने दाउमा छ। यसअघि पश्चिम जर्मनी र ब्राजिलले यो इतिहास रचेको थियो। फ्रान्सले अहिले नै जुन प्रदर्शन देखाएको छ, त्यसले उपाधिको प्रमुख दाबेदार बनाएको छ।

फ्रान्सले मंगलबार अन्तिम ३२ को खेलमा स्विडेनलाई ३–० ले पराजित गरेको थियो, त्यसमा एमबाप्पेले २ गोल गरे भने ब्राडली बार्कोलाले १ गोल गरेका थिए। फ्रान्सले यस विश्वकपमा ४ खेल खेल्दा १३ गोल गरिसकेको छ। डिडियर डेसच्याम्पको १४ वर्षको कार्यकालमा फ्रान्सले चम्किलो प्रदर्शन गर्दै आएको छ। तर फ्रान्सको टोलीमा जुन आक्रामक गर्ने क्षमता छ, त्यसअनुरुप प्रयोग नगरिरहेको आरोप डेसच्याम्पमाथि छ।

फ्रान्सको प्रशिक्षकका रूपमा यो उनको अन्तिम प्रतियोगिता हो। उनको टोलीमा रहेका एमबाप्पे, बार्कोला, ओसमन डेम्बेले र माइकल ओलिसेलाई रोक्नु विपक्षीलाई असम्भवझै देखिएको छ। स्विडेनसँगको खेलपछि डेसच्याम्सले भनेका थिए, ‘फ्रान्सको आक्रामक खेलाडीबीच उत्कृष्ट तालमेल छ, उनीहरूले फुटबलको उही भाषा बोल्छन्।’

त्यसैले फ्रान्ससँग विश्वकप जित्ने राम्रो अवसर छ। विश्व वरीयतामा ४१ औं स्थानमा रहेको पाराग्वेलाई पन्छाउन खासै गाह्रो नहुने अनुमान गरिएको छ। तर वास्तविकतामा यति सरल हुन कठिन छ। पाराग्वे त्यही टोली हो, जसले जर्मनीलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो। यस ऐतिहासिक विजयपछि पाराग्वेमा एक दिन राष्ट्रिय बिदा दिइएको थियो।

‘उनीहरू यहाँ संयोगले आएका होइनन्, जर्मनी शीर्षस्थ टोली हो र पाराग्वेसँग दक्षिण अमेरिकी डीएनए छ, जसको अर्थ उनीहरूसँग अपार क्षमता छ,’ डेसच्याम्पले पाराग्वेका बारेमा भने, ‘उनीहरूसँग राम्रो क्षमताका खेलाडी पनि छन्। यतिकै कुनै टोली अन्तिम १६ सम्म आइपुगेका हुँदैनन्।’

बार्कोलाले शुक्रबार फ्रान्स शारीरिक प्रतिस्पर्धाका लागि तयार रहेको जनाए। उनले भने, ‘उनीहरू धेरै रक्षात्मक भएर खेल्छन्, उनीहरूले कडा चुनौती दिँदै आएका छन्। उनीहरूको पनि फुटबल टिम नै हो, जुन हामीले जर्मनीसँगको खेलमा देखिसक्यौं।’

पाराग्वेका जुलियो इन्किसोलाई फ्रान्सबारे राम्रो थाहा छ, किनभने उनी फ्रान्सेली टोली स्ट्रासबर्गबाट खेल्छन्। उनले नै जर्मनीविरुद्ध गोल गरेका थिए। पाराग्वेले यो खेल जितेर क्वाटरफाइनल पुग्ने अपेक्षा केही व्यक्तिले मात्र राखेको उनले जनाएका छन्। यस्तो भएमा पाराग्वे केवल दोस्रो पटक आफ्नो इतिहासमा विश्वकपको अन्तिम ८ मा पुग्ने छ। ‘हामीसँग पनि आफ्नै शक्ति, क्षमता छ र हामी जुन शैलीमा खेलिरहेका छौं, त्यसले कुनै पनि प्रतिद्वन्द्वीलाई खेल्न गाह्रो बनाउँछन्,’ इन्किसोले भने।

दुवै टोलीका लागि मौसम अर्को प्रतिद्वन्द्वी बन्न सक्छ। फिलाडेल्फियामा शनिबार तापक्रम ३७ डिग्री सेल्सिय पुग्ने अनुमान गरिएको छ। फिलाडेल्फिया त्यही सहर हो, जहाँ २ सय ५० वर्षअघि अमेरिकी स्वतन्त्राको घोषणा गरिएको थियो। तर फिलाडेल्फियामा आउने आँधीको चेतावनीले उनीहरूको यो खुसी मनाउने अवसर बिथोल्न सक्नेछ।

फ्रान्सले फिलाडेल्फियामा यसअघि नै खेल्दा समूह चरणमा इराकलाई ३–० ले पराजित गरेको थियो। वर्षासँगैं चट्याङका कारण उक्त खेल २ घन्टा ढिला सुरु भएको थियो। यस्तो मौसमी अवस्थासँग जुध्नुपर्ने भएकाले दुवै टोली अतिरिक्त समय र पेनाल्टी शुटआउटसम्म जाने कल्पना गर्न सक्दैनन्।

पछिल्लो पटक यी दुई टोली विश्वकपमा खेल्दा खेल अतिरिक्त समयमा पुगेको थियो र फ्रान्सेली फुटबलको आधुनिक इतिहासमा यही नै महत्त्वपूर्ण क्षणमध्ये एक बनेको थियो। पाराग्वेलाई उक्त खेलमा १–० ले पराजित गर्दै अगाडि बढेको फ्रान्सले १९९८ मा अन्त्यमा डेसच्याम्पको कप्तानीमा विश्वकपको उपाधि नै उचालेको थियो, जुन फ्रान्सको विश्वकपमा पहिलो सफलता पनि थियो । एएफपीबाट

Logo