मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र अतिक्रमण रोक्न ४० किमी वनक्षेत्रमा तारजाली

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र अतिक्रमण रोक्न ४० किमी वनक्षेत्रमा तारजाली

केन्द्रबिन्दु
6
Shares

बर्दिया । डिभिजन वन कार्यालय र सामूदायिक वन उपभोक्ता समूह बर्दियाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र अतिक्रमण रोक्न वनक्षेत्रको सिमानामा तारजाली लगाउन थालेको छ । हालसम्म ४० किमी वनक्षेत्रमा तारजाली लगाइसकेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ ।

अतिक्रमित क्षेत्र माचड, ओराली बजार लगायतका अतिक्रमण हटाइएका वन क्षेत्रमा तारबार गरिएको छ । तारजाली लगाइएको वन क्षृत्र सुरक्षित बन्दै गएको वन कार्यालयले जनाएको छ । तारजाली मधुवन, बारबर्दिया लगायत पालिकाको वन क्षेत्रमा लगाइएको छ ।

मधुवन–३ को भारतसंग जोडिएको कतरनियाघाट आरक्षबाट आउने वन्यजन्तुले बस्ती पसेर धनजनको क्षति गरिएको दशगजा क्षेत्रमा तारजाली लगाइएको छ । मधुवन–३ धनौराका किसान प्रकाश चौधरीले तारजाली लगाएपछि वन्यजन्तु आतंक ज्यूनीकरण भएको बताए । विगतमा यस क्षेत्रमा वन्यजन्तुबाट मानवीय क्षति हुनाका साथै अन्नबाली सखाफ हुँदै आएको उनले जनाए ।

एक वर्षयता सामूदायिक वनबाट निस्केको चितुवा, बाघ र हात्तीबाट एघार जनाको ज्यान गइसकेको छ । चितुवाबाट नौ जना र एकजना बाघ र एकजनाको हात्तीको आक्रमणमा परी ज्यान गएको छ । बर्सेनि मानव मात्र नभई किसानले लगाएको अन्नबालीसमेत वन्यजन्तुले क्षति पुर्‍याउँदै आएको छ । तारजाली लगाएपछि मधुवन नगरपालिका–३ का बासिन्दा वन्यजन्तुबाट सुरक्षित महशुस गरेको मधुवन–३ का रामशंकर थारुले बताए ।

‘नेपाल–भारत सीमा नाकमा लगाएको तारजालीले भारतीय सीमाबाट आउने चितुवा, बँदेल लगायतका वन्यजन्तु नेपालतर्फ आउन रोकिएको छ,’ उनले भने‘ यसबाट मानविय,पशु र अन्नबाली क्षति भएको छैन ।’

मधुवन–५ मा पनि तारजाली वन क्षेत्रमा लगाइएको छ । तारजाली लगाउने मुख्य उद्देश्य मानव र वन्यजन्तु न्यूनीकरण हुने त्रिवेणी सामूदायिक वनकी अध्यक्ष कृष्णा गुरुङले बताइन् । ‘यसले वन्यजन्तु बस्तीमा प्रवेश गर्दैनन्,’ उनले भनिन्, ‘यसका साथै वन अतिक्रमण, पशु र अन्नबालीलाई क्षति पुर्‍याउँदैनन् ।’

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न वन र आवादी बस्तीको बीचमा तारजाली लगाइएको छ । ४० किलोमिटर बढी तारबार लगाइसकेकाले अन्य सामूदायिक वनमा लगाउन वन प्रशासनले निर्देशन दिएको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख विजय राज सुवेदीले बताए । तारजालीले वन अतिक्रमण पनि रोकिने उनले जनाए ।

Logo