भारतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ नेपालीको मृत्यु

भारतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतमा कारको ठक्करबाट दुई जना नेपाली युवकको मृत्यु भएको छ। उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला मार्गमा भारतीय कारले ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का राहुल चदारो र दोधारा चाँदनी नगरपालिका-९ का कमल खड्काको मृत्यु भएको हो। उनीहरू दुवै जना मोटरसाइकलमा भारतको राजधानी दिल्लीबाट घर फर्किंदै थिए।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार शुक्रबार तीव्र गतिमा रहेको कार र मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र सितारगन्ज लगिएको थियो। तर दुवैलाई चिकित्सकले मृत घोषणा गरे।

शव त्यही अस्पतालमा राखिएको छ। मृतकका आफन्त शव बुझ्न आज (शनिबार) भारत जाँदै छन्। दुर्घटना भएको क्षेत्र दोधारा चाँदनीबाट नजिकै पर्छ।

‘दुर्घटनाको खबरपछि आफन्तसहित हिजो हामी त्यहाँ पुगेका थियौँ। शव पोस्टमार्टमका लागि राखिएको छ’, दोधारा चाँदनी नगरपालिका-९ का अध्यक्ष गोपीलाल कँडेलले नेपालखबरसँग भने, ‘कार चालक फरार छन्। प्रहरीमा एफआरआई दर्ता गर्छौं।’उनका अनुसार मृतकका आफन्तसहित अहिले त्यहाँ जाने तयारी भइरहेको छ।

पोस्टमार्टमपछि शनिबार नै शव ल्याइने दोधारा चाँदनी नगरपालिका-८ का अध्यक्ष ओमप्रकाश रोकायाले बताए। मृतक युवक भारतको दिल्लीमा काम गर्थे। दुवै जना एउटै मोटरसाइकलमा घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।

Logo