मियामी । केप भार्डेले एउटा राम्रो उदाहरण तयार पारेको छ, देश जत्तिकै सानो किन नहोस्, उसले ठूलो सपना देखे हुन्छ। विश्वकप २०२६ मा शुक्रबार साना टापुहरूको देशले अर्जेन्टिनाविरुद्ध झन्डै ठूलो अप्रत्यासित नतिजा निकाल्न सक्ने स्थिति बनेको थियो।
डिफेन्डर पिको लोपेस भन्छन्, केप भार्डेले विश्वमा जुन बाटो बनाएको छ, त्यसलाई अरूले पछ्याए हुन्छ। लियोनल मेसीको डिफेन्डिङ च्याम्पियनलाई जितसम्म पुग्न १ सय ११ औं मिनेटमा डिनेयी बोरगेसको आत्मघाती गोलको आवश्यक परेको थियो। अर्जेन्टिना अन्तिम ३२ चरणमा प्राप्त यही जितपछि अगाडि बढेको छ। केप भार्डे त्यस्तो सानो द्वीप समूहको देश हो, जसको जनसंख्या ५ लाखमात्र रहेको छ। यही टिमले स्पेन, उरुग्वे र साउदी अरेबियालाई लिग चरणमा बराबरीमा रोकेको थियो।
त्यो पनि विश्वकपमा डेब्यु गर्दै गर्दा प्राप्त सफलता हो। आयरल्यान्डमा जन्मेका लोपेस भन्छन्, ‘हामीले जे जस्तो उपलब्धि हात पारेका छौं, त्यो अद्वितीय छ। हामीले देखाएका छौं, सानो देशले पनि साँच्चै सपना देखे हुन्छ। मुटु ठूलो मात्र बनाउनुपर्छ, सबथोक सम्भव हुन्छ। हामीलाई देखेर केप भार्डेका अन्य युवाले पनि अब फुटबलमा केही गर्न प्रेरित रहनेछ।’
गोलरक्षक भोजिन्हा त यस विश्वकपकै सबैभन्दा ठूला स्टार साबित भएका छन्। स्पेनविरुद्ध उनले जुन ‘प्लेयर अफ द म्याच’ प्रदर्शन गरे, त्यो कसैले पनि बिर्सने छैनन्, लामो समयका लागि। विश्वकप सुरु हुनु अगाडि यी ४० वर्षीय गोलरक्षकको सामाजिक सञ्जालमा पछ्याउने थिए, ५० हजार। अहिले यसको संख्या एक करोड ९० पुगिसकेको छ। बढ्ने क्रम जारी छ।
अहिले कुनै पनि क्लबसँग आवद्ध नरहेका भोजिन्हा भन्छन्, ‘यो विश्वकपले हामीलाई धेरै अर्थ दिएको छ। हामीले यस्तो सपना धेरै अगाडि देखेका थियौं। जतिबेला हामी विश्वकपका लागि छनोट भयौं, त्यो सपना धेरै हदसम्म पूरा भएको थियो। अहिले त हामीले यस विश्वकपमा झन् राम्रो खेलेका छौं। जे जस्तो भयो, ती सबैमा हामीमाथि गर्व हुनेछ।’
मेसीले विश्वकप इतिहासमै आफ्नो २० औं गोल गर्दा लागिरहेको थियो, अर्जेन्टिना एक अर्को अपेक्षित जिततर्फ अग्रसर छ। तर केप भार्डेले हार स्वीकार्न मानेन। खेलमा दुईपल्ट पछाडि रह्यो, दुवै अवसरमा बराबरी गर्न सफल रह्यो। डेरोय डुर्टेको गोल मदतमा केप भार्डे खेललाई अतिरिक्त समयसम्म लैजान सफल भएको हो।
लोपेस अहिले आयरल्यान्डमा पनि नायक भएका छन्। त्यहाँ उनी सामरक रोभर्सबाट खेल्छन्। उनकी आमा आइरल्यान्डमा हुन् भने बुवा केप भार्डे। उनी भन्छन्, यो विश्वकपमा उनको देश केप भार्डेलाई पहिलो पटक साँच्चै विश्व मानचित्रमा प्रस्ट देखाएको छ। उनी भन्छन्, ‘जति बेला हामी विश्वकपका लागि छनोट भएका थियौं, हाम्रो देश कहाँ छ भनेर देखाउन मन थियो।’ एएफपी






























