काठमाडौं,१४,मंशिर
सवारी साधनको चाप बढेपछि नेपालमा इन्धन खपत ह्वात्तै बढेको छ । पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ। जनसंख्या वृद्धि सहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न आयल निगमलाई हम्मे पर्न थालेको छ । पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतले बढेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘डिजेल र पेट्रोलको माग निकै बढेको छ,’ भट्टराईले भने, ‘पाँच वर्षमा शतप्रतिशत बढेपछि इन्धन व्यवस्थापन चुनौती बनेको छ।’
अहिले पेट्रोल मासिक ३६ हजार पाँच सय, डिजेल एक लाख १५ हजार, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार र एलपिजी ग्याँस ३० हजार किलोलिटर खपत भइरहेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थ खपत वृद्धिले वायु प्रदूषण र व्यापार घाटा बढ्छ। आर्थिक वर्ष ०६९ , ७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ किलोलिटर खपत भएकोमा आर्थिक वर्ष ०७३/७४ मा चार लाख दुई हजार दुई सय ७८ किलोलिटर खपत भएको छ । यो पाँच वर्षमा डिजेल खपत सात लाख १६ हजार सात सय ४७ बाट बढेर १२ लाख ९७ हजार ६६ केएल पुगेको निगमले जनाएको छ । पेट्रोल र डिजेलको तुलनामा हवाई इन्धन र ग्याँस खपत कम रहेको छ । हवाई इन्धन ५० प्रतिशतले र खाना पकाउने ग्याँस ७२ प्रतिशतले वृद्धि भएको छ।
नागरिकबाट































प्रतिक्रिया