अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबार आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन् । आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्नसक्ने बताइएको छ ।

बावी नाम दिइएको अत्यन्त्यै वेगसहितको आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ । यसको हावाको गति २६० किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ । यो गति पाँचौँ तहको चक्रवात (हुरिकेन) को बराबर हो ।

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस)ले आँधीलाई ‘अत्यन्त खतरनाक’ भनेको छ र आइतबार दिउँसो वा साँझदेखि उष्णकटिबन्धीय हावाको लहर चल्ने तथा प्रणालीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुने चेतावनी दिएको छ।

एनडब्लयुएसले भनेको छ, “भारी वर्षाबाट ठूलो बाढी र तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।” समुद्रमा करिब १० तले भवनको उचाइ जत्ति अर्थात् ३५ फिट (१०.७ मिटर) सम्मको लहरहरूले ‘अत्यन्त खतरनाक’ अवस्था सिर्जना गर्नेछ । आइतबार गुआममा सडकमा थोरै गाडीहरू मात्र देखिन्थे किनकि भारी वर्षा र बलियो हावाले टापुलाई प्रभावित पारिरहेको थियो ।

आँधी आउने भनिएको क्षेत्रकी ५५ वर्षीया पिन्की कुबाकुबले आफ्नो रेष्टुरेन्टको झ्यालहरू बन्द गर्दै भन्नुभयो, “म शनिबार बिहानै ५०० डलरको प्लाईउड किनेर ढोका तथा झ्यालहरूलाई थप मजबुत् पार्दैछु ताकि आँधीबाट संरचनामा कम क्षति होस् ।”

पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियानाको जनसङ्ख्या करिब ४० हजार छ भने नजिकैको गुआमको जनसङ्ख्या करिब एक लाख ७० हजार रहेको छ । मध्य अप्रिलमा यो क्षेत्रमा आएको सिन्लाकुले चक्रवातले गर्दा हजारौँ मानिसको बिद्युत् सोवालाई अवरूद्ध भएको थियो, रूखहरू ढलेका थिए, गाडीहरू लडेका थिए र भवनहरूको टिनको छाना उडाएको थियो ।

सन् २०२३ मा अर्को ठूलो आँधी ‘मावर’ले पनि ठूलो विनाश गरेको थियो।आइतबार बिहानसम्म बावीले गुआम र साइपान (उत्तरी मारियानाको मुख्य टापु) को बीचमा पर्ने सानो टापु रोटा नजिकबाट गुजर्ने अनुमान गरिएको थियो।

संघीय आपतकालीन व्यवस्थापन निकायको टोली गुआममा खटिएको छ । उनीहरूको वितरण केन्द्रमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खाना, र छ हजार ७०० ओछ्यान र ९० जेनेरेटर तयारी अवस्थामा छन्।

Logo