सार्वजनिक सवारीमा अग्नि नियन्त्रक र प्राथमिक उपचार किट अनिवार्य

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक र प्राथमिक उपचार किट अनिवार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब सवारी साधनहरूमा अनिवार्य अग्नि नियन्त्रक उपकरण तथा प्राथमिक उपचार किट राख्नु पर्ने भएको छ। सफा टेम्पो र ट्याक्सीमा भने यस्ता उपकरण अनिवार्य गरिएको छैन । यस्ता उपकरण र सामग्रीको संख्या भने सवारीको वर्ग र सिट क्षमता अनुसार फरक फरक तोकिएको छ ।

पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार यस्ता सामग्री सवारी साधनभित्र यात्रु र चालकले सजिलै देख्न र भेट्न सक्ने स्थानमा राख्नुपर्छ । यस्ता सामग्रीको प्रयोग सम्बन्धी न्यूनतम तालिम र जानकारी चालक र परिचालकलाई गराउनु पर्ने समेत मापदण्डमा लेखिएको छ ।

यातायात व्यवस्था विभागले कुनै वर्ग वा किसिमका सवारी साधनमा मापदण्ड अनुसारको उपकरण जडानमा छुट दिन सक्ने प्रावधान समेत राखिएको छ । विद्युतीय वा वातावरणमैत्री सवारी, सफा टेम्पोलगायत सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने भएमा यस्तो छुट दिन सकिने भएको छ ।

साना सवारी धनी तथा व्यवस्थापकलाई संक्रमणकालीन सहजीकरण गर्नुपर्ने भएमा वा कुनै वर्गको सवारीमा प्रविधि जडान गर्न नमिल्ने भएमा समेत विभागले छुट दिन सक्ने गरी मापदण्डले व्यवस्था गरेको छ ।

मापदण्ड अनुसार यस्तो उपकरण नराखे सवारी साधन जाँचपासमा अनुत्तीर्ण हुनेछ । निर्धारित उपकरण जडान गरी जाँचपास नगरेसम्म त्यस्तो सवारी साधनलाई जाँचपासको प्रमाणपत्र दिइने छैन । जाँचपास नभएको सवारी साधनले बाटो इजाजत नपाउने प्रावधान छ ।

सोहीकारण उपकरण जडान भएको सवारीले रुट इजाजत नपाउने अवस्था आउनेछ । यसअघि नै रुट इजाजत लिइसकेका सवारीको हकमा इजाजत रद्द गर्न सक्नेसम्मको प्रावधान मापदण्डमा राखिएको छ ।

Logo