कैलाश–मानसरोवर तीर्थयात्राले हुम्लामा पर्यटक र आर्थिक चहलपहल

कैलाश–मानसरोवर तीर्थयात्राले हुम्लामा पर्यटक र आर्थिक चहलपहल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कैलाश–मानसरोवर तीर्थयात्रा गर्ने पर्यटकहरुले यतिवेला कर्णाली प्रदेशका हुम्लाको सदरमुकाम सिमकोटमा चहलपहल बढेको छ । पाहुनाको स्वागत र सत्कारमा सिमकोटका होटल व्यवसायीहरु व्यस्त छन् ।

अहिले सिमकोटमा यी दुईसहित ठूला लगानीका ८ वटा होटल भरिभराउ छन् । पर्यटकीय होटलहरू भारतीय पर्यटकले र साना होटलमा एयरलाइन्सका कर्मचारी, पर्यटन व्यवसायी, पर्यटक पथ प्रर्दशकलगायतले भरिभराउ भएको होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले बताए । उनका अनुसार भारतीय पर्यटकलाई लक्षित गर्दै सिमकोटमा कैलाश, मानसरोवर, कर्णाली, हुम्ला, एलिसलगायत होटलहरूमा १ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी गरिएको छ । चीन सीमास्थित हिल्सामा पनि एक दर्जन पर्यटकीय सुविधाका होटल खोलिएको छ । ती होटलहरूले एक दिनको बाससहित खाना–खाजाको लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज बनाएका छन् ।

हुम्ला सदरमुकाम सिमकोटस्थित होटल विजयका सञ्चालक विजय लामासहित आधा दर्जन कर्मचारीलाई अहिले भ्याइनभ्याइ छ । कैलाश–मानसरोवर दर्शनमा जाने ४० देखि ६० जनासम्म भारतीय पर्यटकलाई दैनिक व्यवस्थापन गर्दा उनीहरूको व्यस्तता बढेको हो । ‘तीर्थयात्री आउन थालेको बल्ल एक महिना पुग्यो, अझै ३ महिनासम्म सिजन चल्छ,’ उनले भने, ‘पर्यटकका लागि खाना–बस्नसहित अन्य बन्दोबस्तीको व्यवस्था गर्दा एकछिन पनि फुर्सद पाउन मुस्किल छ ।’

सिमकोटस्थित होटल पोतलामा पनि अहिले भारतीय तीर्थयात्रीबाहेक अरुले बास पाउन मुस्किल छ । ‘सेप्टेम्बरसम्मकै लागि बुकिङ आएको छ,’ होटल सञ्चालक मीनबहादुर तामाङले भने, ‘हामी जतिसक्दो पाहुनालाई सन्तुष्टि दिने प्रयासमा छौं, दैनिक ४० जनासम्म पर्यटकको खाना–खाजासहित बसाई व्यवस्थापन भइरहेको छ ।’ उनले जेठ पहिलो सातायता मात्रै झण्डै ८ सय पर्यटकलाई सेवा दिएको जानकारी दिए ।

भारतीय पर्यटकहरूले २०७२ सालको भूकम्पपछि हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन् । भूकम्पपछि बन्द भएको हुम्लाको तातोपानी नाका अझै खुलेको छैन । सडक मार्गबाट रसुवाको रसुवागढी हुँदै केरुङ गएर पनि मानसरोवर यात्रा गर्न सकिन्छ भने केही तीर्थयात्रीले चीनको ल्हासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार नेपालका अन्य ठाउँबाट मानसरोवर तीर्थयात्रा गर्न कम्तीमा १० दिन लाग्छ भने हुम्ला भएर ७ दिनमा पनि यात्रा टुंग्याउन सकिन्छ ।

कैलाश यात्रा सञ्चालक संघ (आक्टोन) का अनुसार भारतीय तीर्थयात्री लनखनउको बाटो भएर नेपालगन्ज हुँदै हुम्ला जान्छन् । ‘नेपालबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउ हो, त्यहाँबाट नेपालगन्जको दूरी १ सय ९० किमि छ, जुन ३ घण्टामै यात्रा गर्न सकिन्छ,’ आक्टोनका अध्यक्ष विमल नहर्कीले भने, ‘नेपालगन्जबाट जहाजमार्फत सिमकोट गएर हेलिकोप्टरमार्फत चीन सीमाको हिल्सा पुगिन्छ, त्यहाँबाट १ सय ५ किमि दूरीको मानसरोवरको दूरी ४ घण्टामै पुरा गर्न सकिन्छ ।’ उनका अनुसार नेपालगन्जमा पहिलो दिन बसेका पर्यटकहरू दोस्रो दिन हुम्ला सदरमुकाम सिमकोट बास बस्छन् भने त्यहाँबाट हेलिकोप्टरमा चीन सीमास्थित हिल्सा पुगेर तेस्रो दिन मानसरोवर किनारको दार्चेन बेस क्याम्पमा बस्छन् । चौथो दिन झण्डै ६० किलोमिटर दूरीको कैलाश पर्वत पुगेर दर्शन गरी फर्किने गरेको उनले जानकारी दिए ।

‘हिँड्न सक्नेहरू कैलाश पुगेर ५२ किमि दूरीमा परिक्रमा गर्छन् भने अशक्तहरू दार्चेन बेस क्याम्पबाटै दर्शन गरी फर्किन्छन्,’ पर्यटन व्यवसायी विजय सिंहले भने, ‘त्यहाँबाट फर्केर अर्को दिन सिमकोट बास आउँछन् भने भोलिपल्ट नेपालगन्ज फर्केर बास बस्छन्, यो रुट छिटोमा ७ दिनमा पूरा हुन्छ ।’

आक्टोनका अनुसार यो वर्ष झण्डै २० हजार भारतीय पर्यटकले तीर्थयात्रा ‘बुकिङ’ गराएका छन् । यो वर्ष ३५ वटा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश—मानसरोवर दर्शनका लागि यात्राको प्रवन्ध मिलाइएको र ‘बुकिङ’ अझै जारी रहेको नहर्कीले जानकारी दिए । उनका अनुसार मानसरोवर जान मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण हिल्सा नाकाबाट देखिएको छ ।

पर्यटकको चापका कारण समिट एयरलाइन्सका ३, सीताका २ र ताराको एउटा जहाज नेपालगन्जमै राखिएको छ । यो सिजनमा नेपालगन्जबाट सिमकोटका लागि जहाजले दैनिक २९ वटासम्म उडान भरेका छन् भने अहिले दैनिक कम्तीमा १० वटा उडान भइरहेको नागरिक उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए । उनका अनुसार पर्यटकलाई सिमकोटदेखि चीन सीमास्थित हिल्सा पुर्‍याउन सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश एयरका ६ वटा हेलिकोप्टर हुम्ला विमानस्थलमा राखिएको छ । ‘बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म उडान भइरहेका छन्,’ उनले भने, ‘जहाजको चापका कारण दैनिकजसो हवाइ ट्राफिक जाम हुने गरेको छ ।’

अहिलेसम्म हुम्लाको बाटो भएर ५ हजार १४ जना पर्यटकले कैलाश– मानसरोवरको दर्शन गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ४ सय ८७ महिला र २ हजार ५ सय २७ पुरुषले मानसरोवर दर्शन गरेका हुन् । थप झण्डै ४ सय पर्यटकले सिमकोटमा बसेर मानसरोवर जाने पालो कुरिरहेको प्रहरीले जनाएको छ । यो वर्ष जेठ पहिलो सातादेखि भारतीय पर्यटकहरू कैलाश–मानसरोवर यात्रामा आउन थालेका हुन् । दैनिक ८० देखि ३ सय जनासम्म पर्यटकहरू हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर यात्रामा जाने गरेको पर्यटन व्यवसायी रन्जित लामाले बताए ।

भारतीय पर्यटकको चापले भरिया, पर्यटक पथपर्दशकदेखि जहाज र हेलिकोप्टरका कर्मचारीसमेत ब्यस्त बनेको पर्यटन व्यवसायी मिम लामाले बताए । उनका अनुसार जहाज कम्पनीहरूले भारतीय तीर्थयात्रीको चापका कारण झण्डै २५ जनालाई सामान लोड र अनलोड गर्ने रोजगारी दिएका छन् भने सिमकोट विमानस्थलमा दैनिक ५० जनासम्म भरियाले काम पाइरहेका छन् ।

होटलहरूले मार्सीचामल, फापर, कोदोलगायतको स्थानीय परिकारहरूको मेनु बनाएका छन् भने स्थानीय तरकारीकै प्रयोग हुने गरेको छ । स्थानीय कृषिजन्य सामग्रीको खपत बढेपछि किसानलाई समेत फाइदा पुगेको होटल व्यवसायी संघका अध्यक्ष लामाले बताए । उनका अनुसार अहिले एक होटलले दैनिक ५० किलोसम्म ताजा तरकारी खपत गर्ने गरेका छन् । स्थानीय तरकारी एक सयदेखि दुई सय रुपैयाॅ प्रति किलोसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

पर्यटन व्यवसायी तेन्जिन नोर्बुका अनुसार मानसरोवर दर्शनका लागि सबैभन्दा बढी दक्षिण भारतीय, गुजरात, महाराष्ट्र, उत्तर भारतबाट पर्यटकहरू आउने गरेका छन् । तीर्थयात्रामा आउनेहरू सबैभन्दा धेरै ५० वर्ष माथिका रहेको उनले जानकारी दिए । ‘विभिन्न सेवाबाट अवकाश पाएकाहरू र व्यापारीहरू बढी तीर्थयात्रामा आउने गरेका छन्, भारतीयहरू जीवनमा एकपल्ट कैलाश दर्शन गर्नैपर्नेमा विश्वास गर्छन,’ उनले भने, ‘रिटायर्ड भएकाहरूसॅग पैसा पनि हुन्छ र १० देखि १५ दिनको समय पनि, त्यसैले धेरै यही उमेर समूहका मानिसहरू धेरै तीर्थयात्रामा आउने गरेका हुन् ।’

Logo