केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ मंसिर ।
महिलाहरूको पारिश्रमिकबिनाको सेवामूलक कार्यको पहिचान, न्यूनीकरण र पुनवितरणका माध्यमबाट उनीहरूको आर्थिक सशक्तीकरणको सुनिश्चितता सम्बन्धमा राजधानीमा एक दुई विदसीय राष्ट्रिय महिला सम्मेलन हुने भएको छ ।
सम्मेलन अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था (अस्मिता), एक्सनएड इन्टरनेसनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा आगामी २०७४ मंसिर १५—१६ गते हुन लागेको हो । सम्मेलनको मूल विषय ‘पारिश्रमिकबिनाको सेवामूलक कार्यको पहिचान र सम्बोधनमार्फत महिलाको आर्थिक सशक्तीकरण’ रहेको छ ।
सम्मेलन सम्बन्धमा अस्मिता संस्थाले पत्रकार सम्मेलनको आयोजना गर्दै करिब ३५ जिल्लाका २०० भन्दा बढीको सहभागिता रहने सम्मेलनले नेपाली महिलाहरुले गरिरहेको पारिश्रमिकबिनाको सेवामूलक कार्यको पहिचान गरी त्यसलाई सम्बोधन गर्दै महिलाहरूको आर्थिक सशक्तीकरणका बिषयमा बृहत छलफल गर्ने जनाएको छ ।
सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक आन्दोलनको इतिहासले के देखाएको छ भने नेपालमा पारिश्रमिकबिनाको सेवामूलक कार्य र पारिश्रमिकप्राप्त सेवामूलक कार्य दुवैको पहिचान भएको पाइँदैन । यस्ता कार्यहरूलाई मान्यता नदिइएको कारणले गर्दा यस्ता कार्यमा संलग्न हुनेहरू समाजको शक्ति संरचनामा दोस्रो दर्जामा हुने गर्दछन् । यस्ता कार्यहरूलाई लैङ्गिक कामको बाँडफाँडको आधारमा महिलाको कार्य मानिएको छ भने अक्सर महिलाले नै यस्ता कार्यहरू गर्ने गरेको पाइन्छ । उत्पादनशील कार्यहरूलाई पुरुषको कार्य भनेर बुझिएको छ भने सामाजिक प्रजननका वा पारिश्रमिकबिनाका अन्य सेवामूलक कार्यहरूलाई महिलाको कार्य भनेर बुझिएको छ ।’
सम्मेलनमा महिलाको पारिश्रमिकबिनाको सेवामूलक कार्यसँग सम्बन्धित विभिन्न सवालहरूको नीतिगत समीक्षा, साझा बुझाइ विकास, प्रभावकारी वकालत तथा सरोकारवालाहरूलाई आवश्यक पहलका लागि सिफारिस गरिने बताइएको थियो ।
सम्मेलनमा पारिश्रमिकबिनाको सेवामूलक काम र महिलाबीचको अन्तर्सम्बन्धका साथै महिलाको पारिश्रमिकबिनाको कामसित जोडिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आयामसँग सम्बन्धित विभिन्न विषयका ६ वटा कार्यपत्र प्लेनरी र समानान्तर समूहमा प्रस्तुत भई छलफल हुने जानकारी दिइयो ।
अस्मिता संस्थाकी कार्यकारी निर्देशक सरीता श्रेष्ठ, महिला अधिकार मंचको तर्फबाट सम्मेलनकी संयोजक विजु कँडेल र अस्मिताकी लेखा तथा प्रसाशन प्रमुख शान्ता भण्डारीले पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।





























प्रतिक्रिया