अब रगत होइन, पसिना बगाउने समय आएको छ -हर्क साम्पाङ

अब रगत होइन, पसिना बगाउने समय आएको छ -हर्क साम्पाङ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै देशमै भविष्य देख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।

उनले दार्चुलाको टिङ्कर सडक निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । सीमावर्ती क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्नु विकास मात्र नभई राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय भएको उनको भनाइ थियो ।

सरकारको १०० दिनलाई लिएर अत्यधिक आलोचना नगर्ने उल्लेख गर्दै उनले सयौँ वर्षदेखि थुप्रिएको समस्या १०० दिनमै समाधान गर्न नसकिने बताए । यद्यपि, प्रतिपक्षका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिए।

Logo