एथेन्स । पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
ग्रिसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ ।
ग्रिसको दोस्रो ठूलो सहर थेस्सालोनिकीस्थित ओराइओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा शनिबार साँझ सुरु भएको आगो तीव्र हावाका कारण फैलिएको थियो । त्यसबाट निस्किएको विषाक्त धुवाँका कारण आसपासका तीन उपनगर र १५७ अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासका लागि सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ ।
आगो नियन्त्रणका लागि करिब १६० अग्निनियन्त्रक रातभर खटिएका थिए भने बिहानदेखि पानी बोक्ने विमान परिचालन गरिएको थियो । स्थानीय मेयर पान्डेलिस साकिरिसका अनुसार केही घर र व्यवसायमा क्षति पुगेको छ, यद्यपि विस्तृत विवरण आउन बाँकी छ ।
यसैबीच, एथेन्सको पश्चिमस्थित मन्द्रा क्षेत्रमा देवदारको जङ्गलमा लागेको अर्को डढेलो नियन्त्रण गर्न २१० अग्निनियन्त्रक, स्वयंसेवक, विशेष टोली तथा २९ हवाई साधन परिचालन गरिएको छ । रात परेपछि हवाई उद्धार प्रभावित हुने भएकाले अधिकारीहरूले साँझअघि नै आगो नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन् ।
पोर्चुगलको मध्य भाउजेला क्षेत्रमा बिहीबारदेखि लागेको डढेलो निभाउन एक हजार २०० भन्दा बढी अग्निनियन्त्रक, करिब ४०० सवारीसाधन र १५ वटा विमान परिचालन गरिएको छ । युरोपेली सङ्घ (इयु)को कोपर्निकस स्याटेलाइट प्रणालीका अनुसार आइतबारसम्म आगोले करिब १२ हजार हेक्टर क्षेत्र जलाइसकेको छ । पोर्चुगललाई सहयोग गर्न स्पेनले १२० अग्निनियन्त्रक र ४५ सवारीसाधन पठाएको छ भने इटाली र स्पेनबाट तीनवटा अग्निनिवारण विमान पनि परिचालन गरिएका छन् । अधिकारीहरूका अनुसार आगोको तीव्रता केही घटे पनि केही स्थानमा अझै तातो केन्द्रहरू बाँकी छन् ।
स्पेनको उत्तरपूर्वी गिरोना क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलोले करिब दुई हजार २०० हेक्टर क्षेत्र जलाइसकेको छ । क्याटालोनिया अग्नि सेवाका अधिकारी एडवर्ड मार्टिनेजका अनुसार आगोको परिधि करिब ४० किलोमिटर पुगेको छ र तत्काल नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ ।
ग्रिसको अग्निशमन विभागले थेस्सालोनिकीको आगलागी सडकछेउको वनस्पतिमा गाडीबाट निस्किएको स्पार्कका कारण सुरु भएको आशङ्कामा ७६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । केही दिनअघि सोही क्षेत्रनजिकै अर्को डढेलोमा १२ वर्षीय बालक र उनका बुबाको मृत्यु भएको थियो ।
अग्निशमन विभागका प्रवक्ता ब्रिगेडियर आयोनिस आर्टोपियोसका अनुसार ग्रिसका करिब ८५ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण लाग्ने गरेका छन् । कृषि उपकरणबाट निस्कने स्पार्क, चुरोटका ठुटा र खुला स्थानमा बारबेक्यु गर्दा हुने असावधानी प्रमुख कारण रहेको उनले बताए । अधिकांश आगलागी सचेतना अपनाए रोक्न सकिने उनको भनाइ छ ।
ग्रिसले हरेक वर्ष गर्मीयाममा विनाशकारी डढेलोको सामना गर्दै आएको छ । सन् २०१८ मा एथेन्सनजिकैको डढेलोमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०२३ मा उत्तरपूर्वी ग्रिसमा लागेको डढेलो इयुकै इतिहासमा सबैभन्दा ठूलो वनडढेलो बनेको थियो । जलवायु परिवर्तनसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै ग्रिसले हालै प्रक्षेपण गरिएका चार उपग्रहमार्फत डढेलो निगरानी प्रणाली सुदृढ बनाउने तयारी पनि गरेको छ । -एपी






























