काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा अश्लिल गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोख्रेललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पाँचथर फाल्गुनन्द गाउँपालिका -७ दोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो।
यसअघि २०८२ चैत २६ गते पक्राउ परेका पोखरेललाई प्रहरीले परिवारको जिम्मा लगाएको थियो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।






























