आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध

आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध

केन्द्रबिन्दु
6
Shares

मान्म (कालिकोट) । स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको दूध पिलाउनुको सट्टा बजारमा पाइने कृत्रिम दूध तथा अन्य आहार बिक्रीमा कडाइ गरेको छ ।

प्रशासनले खाँडचक्र नगरपालिकाको मान्म, मोल्फा, पिली र तिलागुफा नगरपालिकाको गाल्जे र नाग्म बजारलगायतका प्रमुख व्यापारिक केन्द्रमा आमाको दूध प्रतिस्थापन गर्ने अन्य दूध तथा आहार बिक्री गर्ने औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई बिक्री नगर्न रोक लगाइएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा रत्नवीर सुनारले भने, “अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन, निप्पल जस्ता वस्तु प्रदर्शनमा राखेको पाइयो । सामाजिक सञ्जालमार्फत त्यस्ता वस्तुको विज्ञापन गर्ने, बजारीकरण गर्नेलाई रोक्न निर्देशन दिइएको छ ।”

आमाको दूध प्रतिस्थापन गर्ने (वस्तु बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ को पालना गराउन र आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्नका लागि त्यस्ता वस्तु बिक्री रोक्न लागिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।

उनले भने, “दिइएको निर्देशनलाई अटेरी गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”

आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले बजारिया दूध विकल्प हुन नसक्ने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । “बजारमा प्रतिबन्धित वस्तु फेला परेकाले तत्काल बिक्री रोक्न व्यवसायीलाई सुझाव दिइएको छ”, उनले भने, “स्थानीय सरकारले ऐन विपरीतका वस्तुको बिक्री गरेको पाइएमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।”

Logo