काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही चाप परेको भए तापनि परिस्थिति क्रमशः सहज हुँदै जाने अपेक्षा राखेको छ।
हाल विदेशी विनिमय सञ्चितिको स्थिति सुविधाजनक रहेको र समष्टिगत आर्थिक परिदृश्य समेत अनुकूल देखिएकाले बैंकले ‘सजगतापूर्वक लचिलो कार्यदिशा’ लाई निरन्तरता दिएको छ। न्यून-लागत अर्थतन्त्र कायम राखी निजी क्षेत्रको मनोबल उच्च राख्दै उच्च आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुर्याउने नीति राष्ट्र बैंकले लिएको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीतिलाई ५.५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य लिएको छ। यसैगरी, कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने र मुलुकको आर्थिक वृद्धिलाई ७.० प्रतिशतमा पुर्याउन आवश्यक मौद्रिक तरलता तथा विदेशी विनिमय व्यवस्थापन गरिने नीतिमा उल्लेख छ।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुश (एङ्कर) को रूपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत् राखिएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुने गरी खुला बजार कारोबार सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। बजारमा तरलताको प्रकृति हेरी संरचनागत तरलता र नियमित तथा आकस्मिक तरलता व्यवस्थापनका लागि विभिन्न अवधिका मौद्रिक उपकरणहरू प्रयोग गरिने कार्यदिशा मौद्रिक नीतिले तय गरेको छ।






























