लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

केन्द्रबिन्दु
3
Shares

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ ।

रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।

लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ ।

‘‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पछ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘‘उहाँले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’’

मोटरसाइकलमा घर जाँदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उनले बताए । घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ ।

Logo