यसवर्ष तिहारमा सस्तियो भाइमसला, कारोबार छैन (कुन सामानकाे मूल्य कस्ताे?)

यसवर्ष तिहारमा सस्तियो भाइमसला, कारोबार छैन (कुन सामानकाे मूल्य कस्ताे?)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ ।

सामान्य अवस्थामा तिहारको किनमेलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन । कास्की घर भई कीर्तिपुरमा सानो होटल चलाएर बस्ने सावित्री भण्डारी कमाइ नहुँदा घरभाडा तिर्न नै ऋण परेकाले किनमेल गर्ने कुनै योजना नभएको बताउँछिन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई खाना खुवाउने होटल सञ्चालन गरेकी भण्डारीको होटल गत चैतदेखि बन्द छ । अहिले खुला भए पनि कोही पनि आउँदैन बन्द जस्तै हो, उनले भनिन् । अघिल्लो तिहारमा पाँच दाजुका लागि भाइमसला र सानो उपहार गरी २५ हजार रुपैयाँभन्दा बढीको किनमेल गरेकी कीर्तिपुरकै मीना दाहालले यसपटक भने किनमेल नगर्ने बताइन् ।

पाँच दाजुकी एक्ली बहिनी उनले अघिल्ला वर्षहरूमा तिहार आउनुभन्दा १५ दिन अगाडि किनमेल गर्ने गरेकी थिइन् तर अहिले भने कोरोना सङ्क्रमण हुने डरले यसपटक टीका नै नलगाउने भनेर किनमेल गरेकी छैनन् । माथिका दुईवटा प्रतिनिधिमूलक भनाइले तिहार बजारमा पनि दशैँजस्तै मन्द हुने देखाउँछ ।

व्यापारीको समस्या बेग्लै

कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आएका रवि शाह यस्तो शून्य तिहार कहिल्यै नभएको बताउँछन् । उनका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन । गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपैयाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन, शाहले भने, “किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैन” मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उनले बताए ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाजन्य हरेक वस्तुको मूल्य गत वर्षभन्दा यो वर्ष घटेको देखिन्छ । सङ्घले तिहारमा प्रयोग हुने वा बढी कारोबार हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष प्रतिकेजी कम्तीमा २० देखि पाँच सय रुपैयाँसम्म सस्तो भएको जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले यसपटकको तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ र माग दुवै घटेको जानकारी दिए । उनका अनुसार माग लगभग आधाले घटेको छ ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo