काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।
‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको बताए । उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे ।
‘नागरिकहरूले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरौँ भन्ने कुरा आफैंमा स्वागतयोग्य हो,’ उनले भने,‘संविधानसभामार्फत नेपालको संविधान जारी भएको १० वर्ष पुग्न लागेको छ। संविधानले पनि पुनरावलोकनको परिकल्पना गरेको छ। कतिपय विषयमा त १० वर्षपछि संघीय संसद्ले पुनरावलोकन गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।’
थापाले संविधान संशोधनका क्रममा केही विषयमा सुरुदेखि नै सचेत हुनुपर्ने धारणा पनि राखे । उनले सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन कठिन परिस्थितिमा संविधान निर्माण भएको स्मरण गराउँदै त्यसबेला संविधानप्रति व्यापक अपनत्व र स्वामित्व स्थापित गर्न राज्यले विभिन्न आन्दोलनरत पक्षसँग समय–समयमा सम्झौताहरू गरेको बताए ।
उनले भने, ‘हामी दुईतीनवटा कुराहरुमा प्रारम्भमै सचेत हुनुपर्छ । सशस्त्र द्धन्द्ध पश्चातको संक्रमणकालको कठिन परस्थितबाट यो संविधान निर्माण भयो । त्यसैले संविधानमाथि आमअपनत्व र स्वामित्व स्थापित गर्नमा विभिन्न समयमा विभिन्न आन्दोलनहरुसँग राज्यले सम्झौता गरेको छ ।’
सभापति थापाले संविधान संशोधनको बहस अघि बढाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, भएका राजनीतिक सहमति र नागरिकका अधिकारको संरक्षणलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।






























