काठमाडौँ । नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने एउटा विल्कुलै नौलो अभियानको रूपमा यही असार २९ र ३० गते मकवानपुरको सुपिङमा दुई दिने ‘आरोग्य साहित्यिक यात्रा’ को पहिलो संस्करण आयोजना हुन गइरहेको छ ।
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस विशेष यात्राको परिकल्पना तथा संयोजन कलाकार, साहित्यकार एवं आध्यात्मिक अभियन्ता सोविता सिंखडाले गरेका छन् । जब एउटा स्रष्टा भित्रैदेखि शान्त र स्वस्थ हुन्छ, उसबाट निस्कने हरेक शब्दले समाजलाई सही रूपान्तरण गर्न सक्छ भन्ने पवित्र उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।
मकवानपुरको रमणीय स्थल सुपिङस्थित ’सुपिङ गर्ज क्याम्प’ मा हुने यस पहिलो कार्यक्रममा नेपालका ख्यातिप्राप्त एवं दिग्गज स्रष्टाहरूको सहभागिता रहनेछ । कार्यक्रमको सल्लाहकारमा मदन पुरस्कार विजेता वरिष्ठ कथाकार महेशविक्रम शाह छन् भने पूर्व मुख्यसचिव तथा आरोग्य अभियन्ता बैकुण्ठ अर्यालको विशेष सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रमको ब्यवस्थापन देवेन्द्र नेपालले गर्नेछन् ।
दुई दिने यस यात्रामा मदन पुरस्कार विजेता आख्यानकारहरू नारायण वाग्ले र अमर न्यौपाने, स्थापित आख्यानकार नयनराज पाण्डे, बहुप्रतिभाशाली अभिनेता, लेखक, निर्देशक खगेन्द्र लामिछाने र युवापुस्ताका लोकप्रिय उपन्यासकार सुविन भट्टराई सहभागी हुनेछन् ।
विशेष गरी, भर्खरै विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक अवार्ड जितेर फर्किनु भएका स्थापित लेखक तथा निर्देशक अविनाशविक्रम शाह र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त चलचित्र लेखक तथा निर्देशक मीन भामको उपस्थिति यस यात्राको अर्को मुख्य आकर्षण रहनेछ । त्यसैगरी वरिष्ठ सञ्चारकर्मीहरू टीकाराम यात्री र निराजन भण्डारी, लेखक तथा नागरिक अभियन्ता अर्चना थापा, चर्चित गजलकार बाबु त्रिपाठी, कलाकार सुशील सिटौला, लेखक तथा राजनीतिक विश्लेषक केशव दाहाल, लेखक तथा पत्रकार शेखर खरेल, कवि रिमा केसी, गायिका सोफिया थापा, उपन्यासकार प्रभा बराल, लेखक तथा पत्रकार क्षितिज समर्पण, र कवि शान्ति प्रियवन्दनाको गरिमामय उपस्थिति रहनेछ ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा स्रष्टाहरूको आत्मिक शुद्धता र मानसिक शान्तिका लागि ध्यान तथा योग, सुपिङको सुन्दर प्राकृतिक सौन्दर्यको सान्निध्यमा गरिने हाइकिङ,सुपिङको स्थानीय माटोमा प्राकृतिक रूपमा उत्पादन गरिएका ताजा, आर्गानिक र शुद्ध शाकाहारी भोजन, आरोग्य सङ्ग जोडिएको विशेष अन्तक्र्रिया र विमर्शहरू गरिनेछ ।
कार्यक्रमको हस्पिटालिटी पार्टनरको रूपमा ’सुपिङ गर्ज क्याम्प’ र ब्रोडकास्टिङ पार्टनरको रूपमा ’एपी वान एचडी’ टेलिभिजन रहेका छन्।
समाजका मार्गदर्शक र जनमानसमा गहिरो प्रभाव राख्ने दिग्गज स्रष्टाहरू मार्फत आरोग्यको सन्देशलाई आम नागरिकसम्म पुर्याउनु र यसको महत्व बुझाउनु नै यस यात्राको मुख्य उद्देश्य रहेको छ।






























