समुदायस्तरमा साइबर सुरक्षा सचेतना फैल्याउँदै वर्ल्डलिंक

समुदायस्तरमा साइबर सुरक्षा सचेतना फैल्याउँदै वर्ल्डलिंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ मार्फत समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ।

कार्यक्रमबाट गत साउन २०८२ देखि जेठ २०८३ सम्ममा काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना प्रत्यक्ष लाभान्वित भएको वर्ल्डलिंकले जनाएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिएका साइबर दुर्व्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन र गलत सूचना जस्ता जोखिम न्यूनीकरणको उद्देशयले अभियान सुरु गरिएको हो ।

वर्ल्डलिंकका अनुसार प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको अवधारणा र नेतृत्वमा यो कार्यक्रम विगत केही वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ। सुरुवाती चरणमा विद्यालय केन्द्रित रहेको यो कार्यक्रम यस वर्ष भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीमाझ पुगेको थियो ।

विद्यार्थी, शिक्षक र अभिभावकको सकारात्मक प्रतिक्रिया र समुदायबाट बढ्दो माग भएपछि यसलाई विद्यालयको घेराभन्दा बाहिर समुदायस्तरसम्म विस्तार गरिएको डाइरेक्टर जालानले जानकारी दिइन् ।

यस वर्ष काठमाडौं महानगरपालिका वडा नं. ९ र १०, टोखा नगरपालिकाका सबै वडाहरू र महिला मानव अधिकार संस्थासँगको सहकार्यमा १२ वटा विशेष तालिम सत्रहरू सञ्चालन गरिएका थिए । जसमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई थप विश्वसनीय र प्रभावकारी बनाउन यसमा प्रयोग गरिने प्रशिक्षण सामग्रीहरू नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा अध्ययन तथा अनुमोदन गरिएको छ । तालिममा जिम्मेवार इन्टरनेट प्रयोग, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयताको संरक्षण र डिजिटल उत्पीडन जस्ता व्यवहारिक विषयमा अन्तरक्रियात्मक ज्ञान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

तालिममा सहभागी एक महिला स्वास्थ्य स्वयंसेविकाले डिजिटल सुरक्षाको ज्ञानले इन्टरनेटको सही सदुपयोग गर्न सिकाएको प्रतिक्रिया दिएकी छन् । अर्का एक सहभागीले सामाजिक सञ्जाल चलाउँदा हुने ठगीको डर तालिमपछि हटेको र सुरक्षित रहने उपायहरू सिकेको अनुभव सुनाए ।

वर्ल्डलिंकले आगामी वर्ष पनि डिजिटल समावेशीकरण र सुरक्षित अनलाइन संस्कृतिको निर्माणलाई प्राथमिकता दिँदै यो अभियानलाई अन्य समुदायहरूमा पनि विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

Logo