विश्वकपमा धेरै र नयाँ टिम, तर कथा पुरानै दोहोरिँदै

विश्वकपमा धेरै र नयाँ टिम, तर कथा पुरानै दोहोरिँदै

केन्द्रबिन्दु
0
Shares

मियामी । विश्वकपमा टिमहरू त बढ्दै छ। तर कथा भने पुरानै दोहोरिँदै छ। अहिलेको विश्वकप ४८ टिमको सहभागिता रह्यो। यति धेरै टिमले खेलेको यो नै पहिलो विश्वकप भयो। अब यही प्रतियोगिता अन्तिम आठमा प्रवेश गरेको छ।

क्वाटरफाइनल पुगेका टिममध्ये ६ त युरोपकै भए। मोरक्कोले घोर आश्चर्यको नतिजा निकाले भने एउटा तथ्य निश्चित छ, यसपल्टको पनि विजेता युरोपकै हुन्छ। होइन भने दक्षिण अमेरिकाबाट। फेरि एकपल्ट, फेरि उस्तै हुन लागेको छ, विश्वकपमा।

विश्वकप सुरु भएको पनि सय वर्ष हुनै लागेको छ। सन् १९३० मा पहिलो विश्वकप भएको थियो। त्यसयता विश्वकपका २२ संस्करण भए। त्यसमध्ये १२ पल्ट युरोपको टिमले उपाधि जितेको छ। दसपल्ट दक्षिण अमेरिकाबाट अनि अन्य महादेशबाट उपाधि जितेको संख्या शून्य छ।

यसपल्टको क्वाटरफाइनलमा दक्षिण अमेरिकाबाट एक टिम रहेका छन् भने अफ्रिकाबाट एक। त्यसैले फेरिएको इतिहास रच्ने सम्भावना कमै छ। यसले युरोपकै केही उत्कृष्ट खेलाडीलाई पनि आश्चर्यमा पारेको छ, जसरी यसपल्टको प्रतियोगिता अगाडि बढेको छ। नर्वेका इर्लिङ हालान्ड भन्छन्, ‘मलाई लागेको थियो, यस्तो हुने छैन, तर म आफैं गलत साबित भएँ।’

भयो के भन्दा उनलाई के लागेको थियो भने नर्वेलाई विश्वकपमा ब्राजिललाई हराउन गाह्रो हुनेछ। तर उनकै दुई गोलमा नर्वे मज्जाले विजयी रह्यो। यो विश्वकप पनि अन्ततः तीन सह–आयोजक देशका लागि पनि त राम्रो रहेन। यो विश्वकप ठूलो किन पनि रह्यो भने यो तीन देशले आयोजना गरेको थियो।

अमेरिका, क्यानडा र मेक्सिको, तीनै उत्तर अमेरिकी महादेशका प्रतिनिधि हुन्। यी टिममध्ये कसैले पनि अन्तिम आठको यात्रा तय गर्न सकेन। अमेरिका बेल्जियमको हातबाट पराजित भएर प्रतियोगिताबाट बाहिरियो। त्यस लगत्तै अमेरिकी स्टार क्रिस्टियन पुलिसिचले भने, ‘हाम्रा अगाडि अझै अनेक बाधा रहेछन्।’

बेल्जियमसँगको अमेरिकाको ४–१ हारले उनी पनि निराश छन् र भन्छन्, ‘अब हाम्रो उद्देश्य विश्व फुटबलकै उत्कष्ट टिमलाई हराउने बाटोमा जानु पर्छ, अबको उद्देश्य यही हुनु पर्छ।’

तीनै सह–आयोजक टिम अन्तिम ३२ को चरणसम्म त सजिलै पुगे। त्यसक्रममा आफ्ना प्रतिद्वन्द्वीमाथि सहज देखिए। यसक्रममा विपक्षी टिमविरुद्ध संयुक्त रूपमा २० गोल पनि गरे। लागिरहेको थियो, सबथोक राम्रो भइरहेको छ। त्यसपछि आयो, अन्तिम १६ को चरण। मेक्सिको इंग्ल्यान्डसँग ३–२ ले पराजित रह्यो। बेल्जियमसँग अमेरिकाको हार एकपक्षीय जस्तै रह्यो।

यस्तै तरिकाले क्यानडा पनि मोरक्कोसँग हार्‍यो। फ्रान्सेली फुटबल लिजेन्डले त्यसपछि एक शब्दमा बढी जोड दिएका छन् र त्यो हो, ‘स्तर’ । विश्वकपको विश्लेषण गर्ने क्रममा फक्समा उनले भनेका छन्, ‘विश्वकप समूह चरणमा अर्कै हुन्छ। यसअघि विश्वकपमा अन्तिम ३२ को चरण भन्ने नै थिएन्। त्यसैले सबैले यो चरणमा नयाँ इतिहास बनाए।’

उनी थप्छन्, ‘दुःखले तीनै आयोजक देश एकपछि अर्को गरेर बाहिरिए। विश्वकपमा यस्तो नहोस् भन्ने त चाहन्छौं, तर भएको छ। यसमा म दुःखी छं।’ यदि यस्तो प्रदर्शनले हेनरीलाई त दुःखित बनाउँछ भने क्यानडा, मेक्सिको र अमेरिकाका फुटबल समर्थकले कस्तो महसुस गर्दा हो, सजिलै कल्पना गर्न सकिन्छ। सन् २०१४ यता कनन्काफबाट कुनै पनि प्रतिनिधिले विश्वकपको क्वाटरफाइनल खेलेको छैन।

त्यो भनेको उत्तर र मध्य अमेरिकासँगै क्यारेबियन क्षेत्रका देशको संघ भयो। अन्तिम पटक क्वाटरफाइनल पुगेको टिम कोस्टारिका छ। त्यस अगाडि अमेरिकाले सन् २००२ मा अन्तिम आठको यात्रा तय गरेको थियो। सन् १९३० को विश्वकपमा तेस्रो हुनु नै अमेरिकाको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो। क्यानडा त अन्तिम १६ को चरणबाट अगाडि बढेकै छैन।

अझ उल्लेखनीय तथ्य के छ भने मेक्सिकोले पछिल्ला ९ विश्वकपको संस्करण लगातार खेलेको छ र त्यसअध्ये आठपल्ट अन्तिम १६ को चरण पनि पुगेको छ। तर त्यहाँबाट एकपल्ट पनि अगाडि बढ्न सकेको छैन। मेक्सिकोको मिडफिल्डर एरिक लिरा भन्छन्, ‘सबैले सक्दो खेलेकै हुन्, तर अन्त्यमा त्यो पनि अगाडि बढ्न पर्याप्त रहेन।’

प्रत्येक चार वर्षको अन्तरमा क्वाटरफाइनल पुग्ने अन्य टिमको समीकरण तलमाथि त भएको छ तर युरोप र दक्षिण अमेरिकाको प्रसंगमा यस्तो हुन गरेको छैन। सन् २००२ को विश्वकप सायद धेरै अर्थमा फरक रह्यो, त्यस प्रतियोगिताको क्वाटरफाइनलमा पाँच महादेशका प्रतिनिधि थिए। त्यसमा युरोप, दक्षिण अमेरिका, एसिया, अफ्रिका र उत्तर अमेरिकाका हुन्।

यो आफैंमा दुर्लभ अवसर थियो। त्यसपछि भने सबै कुरा फेरियो, त्यसयताका ६ विश्वकपमा उपलब्ध क्वाटरफाइनलका ४८ स्थानमा युरोपको प्रतिनिधित्व ३०, दक्षिण अमेरिकाको १४, अफ्रिकाको ३, उत्तरी अमेरिकाको एक रहेको छ। अहिले मोरक्कोले अफ्रिकाको आस बोकिरहेको छ। अफ्रिकाले यस विश्वकपमा १० टिम पठाएको थियो।

त्यसमध्ये ९ टिम अन्तिम ३२ मा पुगे। मोरक्को छाडेर सबै त्यहीं रोकिए, लगभग सबैले खेलको अन्त्यतिर गोल खाए र उनीहरूको चुनौती सकियो। आइभोरी कोस्ट, दक्षिण अफ्रिका र डीआर कंगोले निर्णायक गोल खाएको भनेकै ८६ औं मिनेट वा त्यसपछि थियो। केप भार्डेको जादुयी यात्रा त झन् १ सय ११ औं मिनेटमा खाएको आत्मघाती गोलले समाप्त भयो।

सेनेगल र इजिप्टको बिदाइ त अझ धेरै पीडादायी रह्यो। दुवैले लामै समयसम्म दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन। अन्त्यमा सेनेगल बेल्जियम र इजिप्ट अर्जेन्टिनासँग समान ३–२ को स्कोरले पराजित भयो। इजिप्टको हार त धेरै हदसम्म विवादास्पद पनि रह्यो, रेफ्रीको निर्णयका कारण। धेरैको रेफ्रीको निर्णयमा विरोध र फरक मत रह्यो।

इजिप्टको प्रशिक्षक हुसेन हसनले भने, ‘विश्वकप च्याम्पियन यस विश्वकपमा लामो समयसम्म रहोस् भन्ने उद्देश्य थियो, मेसीको चुनौती कायम होस् भन्ने इच्छा थियो।’ यति हुँदाहुँदै पनि अर्जेन्टिना जस्तो महाशक्ति देशले अगाडि बढ्ने बाटो बनाइहाल्यो। विश्वकपका पछिल्ला ६ संस्करणमध्ये अर्जेन्टिना पाँचपल्ट क्वारटफाइनल पुगेको छ।

यो यस्तो प्रवृत्ति हो, जुन दोहोरिएको छ अनि परिवर्तन हुने संकेत पनि मिलेको छैन। लियोनल मेसी भन्छन्, ‘विश्वकपको नकआउट चरणमा दुई गोलले पछाडि रहेको स्थितिबाट खेल जित्न सजिलो हुन्न। विश्वकप जस्तो प्रतियोगितामा कसैले केही पनि सित्तैमा दिँदैन। ईश्वरलाई धन्यवाद दिनैपर्छ, हामीले फेरि एकपल्ट पुनरागमन जित रच्न सफल रह्यौं।’

Logo