बेल्जियमलाई स्पेनको रक्षापंक्ति तोड्ने चुनौती

बेल्जियमलाई स्पेनको रक्षापंक्ति तोड्ने चुनौती

केन्द्रबिन्दु
9
Shares

लस एन्जलस । बेल्जियमले विश्वकप २०२६ को क्वाटरफाइनलमा शुक्रबार स्पेनको सामना गर्दा एउटै चुनौती रहनेछ, प्रतिद्वन्द्वी टिमको रक्षापंक्ति तोड्ने। यस विश्वकपमा स्पेनले अहिलेसम्म एउटै गोल खाएको छैन। त्यति मात्र होइन, क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउने क्रममा स्पेन विश्वकपमा लगातार ६ खेलमा ‘क्लिन सिट’ राख्ने पहिलो टिम भएको थियो।

स्पेनको आक्रमणमा अहिलेसम्म धारिलोपन देखिएको छैन, तर सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप जितेयता पहिलो पटक सतर्क रहेर बलमाथि बढी नियन्त्रण राख्ने शैलीमा खेलिरहेको छ। चोटका कारण पूर्णतः निको हुने क्रममै रहेका प्रतिभाशाली खेलाडी लामिन यामल अहिले स्पेनका लागि आक्रमणमा प्रमुख खेलाडी हुन्। तर उनले ५ खेलमा एक गोलमात्र गरेका छन्।

उनको स्थानममा मिकेल ओयारजाबल चम्केका छन् र उनले ४ गोल गरिसकेका छन्। अस्ट्रियामाथिको जितमा उनले २ गोल निकालेका थिए। बार्सिलोना मिडफिल्डर डानी ओल्मो मान्छन्, प्रतियोगिता अगाडि बढ्ने क्रममा यामल बहुमूल्य अनुभव बटुल्दै छन्। उनी भन्छन्, ‘आफ्नो उपस्थितिले नै यामलले खेलमा धेरै प्रभाव पार्छन्। उनको नियन्त्रणमा बल हुँदा विपक्षीका दुई तीन खेलाडी नजिक हुने गर्छ, यसले अन्यत्र अवसर तयार पार्छ।’

उनी थप्छन्, ‘लामिने गोल मात्र गर्दैनन्, गोलका लागि अवसर पनि सिर्जना गर्ने गर्छन्। उनले अहिलेसम्मको आफ्नो छोटो खेलजीवनमा यस्तै खेल प्रदर्शन गरिआएका छन्। जति बेला उनले यस्तो गरिरहेका हुन्न, त्यही बेला हामीलाई यस्तै गर्न सहयोग पनि गरिरहेका हुन्छन्।’

एउटा वास्तविक तथ्य के पनि रहेको छ भने स्पेनलाई जित्नका लागि धेरै गोलको आवश्यकता पनि छैन। स्पेनले यहाँसम्मको यात्राका पाँच खेलमा ६ गोल मात्र गरेको छ र यो नै पर्याप्त रहेको छ। ओल्मोको भनाइ छ, ‘हाम्रो टिमको विशेषता भन्नु नै, सबैले आक्रमण गर्छन् र सबैले रक्षापंक्तिको भूमिका पनि निभाउने गर्छन्। प्रशिक्षकको निर्देशन रहेको छ, हाम्रो टिममा नम्बर ९ नै त्यस्ता खेलाडी हुन्, जसको काम डिफेन्स गर्नु हो, त्यसपछि उनलाई अरूले पछ्याए हुन्छ।’

उनी आफ्नो डिफेन्सको खुलेर प्रशंसा पनि गर्छन् र यसलाई कोसेढुंगा उपलब्धि रहेको समेत मान्छन्। यसमा आफ्ना गोलरक्षक उनाइ सिमोनको ठूलो हात रहेको पनि मान्छन्। अर्कोतर्फ बेल्जियमको क्वाटरफाइनल यात्रा भने त्यत्तिकै सहज रहेको छैन र यसमा पर्याप्त उतारचढाव रहेका छन्। सेनेगलविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रच्नु सहज रहेको थिएन।

तर अमेरिकाविरुद्धको पछिल्लो जित भने धेरै अर्थमा आरामदायी रह्यो र त्यसमा चार्ल्स डे केटेलयरले दुई गोल गरेका थिए। यो विश्वकप बेल्जियमको स्वर्णिम पुस्ताको अन्तिम ठूलो प्रतियोगिता हुन सक्नेछ, त्यसमा मिडफिल्डर केभिन डे ब्रुयना र स्ट्राइकर रोमेलु लुकाकु पनि पर्छन्। संयोगले दुवै अहिले नेपोलीका लागि खेलिरहेका छन्। अमेरिकाविरुद्ध दुवै खेलाडीले सुरुदेखि खेल्न पाएनन्।

तर लुकाकु सब्स्टिच्युटका रूपमा गोल गर्न भने सफल रहे। उनले विश्वकपमा गरेको गोल संख्या ८ पुगेको छ र यो डिएगो म्याराडोना तथा रुदी भोलरको बराबरी हो। यही स्वर्णिम पुस्ताका अर्का प्रमुख खेलाडी हुन्, गोलरक्षक थिबो कोटवा। उनीसामु पनि राम्रो प्रदर्शनको चुनौती रहनेछ। प्रशिक्षक रुदि गार्सियालाई राम्रा खेलाडीको अभाव पनि छैन र त्यस सूचीमा म्यानचेस्टर सिटीका विङ्गर जेरेमी डोकु र आर्सनलका लियान्ड्रो ट्रोसार्ड पनि पर्छन्।

स्पेनविरुद्धको यो खेल बेल्जियमका लागि चार विश्वकप संस्करणमा तेस्रो क्वाटरफाइनल हुनेछ, तर यो टिम अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन। विश्व फुटबलमा स्पेनलाई पनि ठूलो शक्ति मानिए पनि यो टिम अन्तिम आठबाट अगाडि बढेको भनेको दुईपल्ट मात्र हो। सन् १९५० को विश्वकपलाई छाडेर स्पेनले धेरै माथिसम्म पुगेको भनेको उसले विश्वकपको उपाधि जित्दा मात्र हो।

Logo