काठमाडौं । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित पुस्तक ‘इमोसनल इन्टेलिजेन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’को लोकार्पण गरिएको छ ।
बिहीबार आयाेजित कार्यक्रमको अध्यक्षता पेन इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लिटल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे । पूर्व प्लेफ्टिनेन्ट जनरल पीबी लिम्बु विशिष्ट अतिथि थिए । लिटल एञ्जल्सका फाइनान्स हेड राजेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै अनुसन्धानमुखी शैक्षिक प्रकाशनले नेपालको उच्च शिक्षामा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै, पुस्तकको समीक्षा गर्दै पत्रकार सुजना घिमिरेले यस कृतिले भावनात्मक बौद्धिकताको सैद्धान्तिक महत्वलाई उच्च शिक्षा व्यवस्थापनको समसामयिक व्यवहारसँग सफलतापूर्वक जोडेको बताइन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टकी एसोसिएट डिन डा.रोशी लामिछानेले भावनात्मक बौद्धिकता आजको नेतृत्व विकासको अपरिहार्य आधार बनेको उल्लेख गरिन् भने पूर्व डिन प्रोफेसर डा.पन्ना थापाले पुस्तकलाई अनुसन्धान, सिद्धान्त र व्यवहारको प्रभावकारी त्रिवेणीको रूपमा व्याख्या गरेका थिए । डा. थापाले यो पुस्तक उच्च शिक्षाका नेतृत्वकर्ताहरूका लागि एक महत्वपूर्ण सन्दर्भ सामग्री सावित हुने धारणा राखे ।

लेखक डा. मित्रबन्धु पौडेलले आफ्नो लेखन यात्राको अनुभव साझा गर्दै भावनात्मक बौद्धिकतालाई गहिरो रूपमा बुझ्ने उद्देश्यले पुस्तक तयार पारेको बताए । शैक्षिक संस्थाहरूमा दक्ष जनशक्ति टिकाइराख्न सक्रिय सुनुवाइ, समानुभूति र सम्बन्ध व्यवस्थापन जस्ता ‘सफ्ट स्किल’ नै मुख्य आधार हुने उनको ठहर थियो ।

प्रमुख अतिथि उमेश श्रेष्ठले कार्यक्रमको चुरो विषयलाई थप स्पष्ट पार्दै भने, “आजको कृत्रिम बौद्धिकताको युगमा भावनात्मक बौद्धिकताको महत्व झन् बढेर गएको छ । प्रविधिले धेरै काम सहज बनाए पनि मानवीय संवेदनशीलता, सहानुभूति, सम्बन्ध व्यवस्थापन र भावनात्मक नेतृत्वको भने कुनै विकल्प छैन ।”

अध्यक्ष मन्तव्यको क्रममा भीष्म उप्रेतीले ‘पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ प्रकाशित गर्नु पेन इन्टरनेसनल नेपाल च्याप्टरका लागि गर्वको विषय भएको उल्लेख गरे । उनले यस पुस्तकले शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनको क्षेत्रमा नयाँ बहस प्रारम्भ गर्ने विश्वास व्यक्त गरे ।
लिटल एञ्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अनुसन्धान, सार्वजनिक सेवा तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






























