फिफा विश्वकप–२०२६ का ६ रोचक तथ्य

फिफा विश्वकप–२०२६ का ६ रोचक तथ्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ सुरुदेखि नै रोमाञ्चक, नाटक र अप्रत्याशित घटनाले भरिएको प्रतियोगिता बन्दै गरेको छ । गोलको वर्षा, मैदानभित्र र बाहिरका विवाद, कमजोर मानिएका टोलीको ऐतिहासिक प्रदर्शनदेखि लिएर अन्तिम मिनेटका नतिजासम्म यस विश्वकपले फुटबल समर्थकलाई भरपुर मनोरञ्जन दिन कञ्जुस्याइँ गरेको छैन ।

यी सबै घटनाक्रमबीच प्रतियोगितामा केही रोचक प्रवृत्तिहरू पनि देखिएका छन् । तथ्यांकको गहिरो विश्लेषण गर्दा फिफा विश्वकप २०२६ लाई विशेष बनाउने यस्ता ६ प्रमुख ट्रेन्ड देखिन्छन् ।

पेनाल्टीमा गोल गर्नै गाह्रो

यस विश्वकपमा पेनाल्टीबाट गोल गर्नु खेलाडीका लागि विगतको तुलनामा निकै चुनौतीपूर्ण बनेको छ । पेनाल्टी सुटआउटसहित उत्तर अमेरिकामा अहिलेसम्म प्रहार गरिएका ५९ पेनाल्टीमध्ये २० वटा गोलमा परिणत हुन सकेका छैनन् । अर्थात् सफलता दर केवल ६६.१ प्रतिशत रहेको छ, जुन सन् १९६६ यताकै विश्वकप इतिहासमा सबैभन्दा कमजोर हो ।

यो पछिल्ला केही विश्वकपदेखि देखिएको गिरावटको निरन्तरता पनि हो । सन् २०१४ पछि प्रत्येक विश्वकपमा पेनाल्टी सफलताको प्रतिशत घट्दै आएको छ । एक समय यस्तो पनि थियो जब पेनाल्टी लगभग निश्चित गोल मानिन्थ्यो । १९६६ र १९७० का विश्वकपमा प्रहार गरिएका सबै १३ पेनाल्टी सफल भएका थिए ।

अहिले भने भिडियो सहायक रेफ्री भीएआरले गोलरक्षकको लाइनमा उभिने तरिका र अन्य खेलाडीको प्रवेश समेत कडाइका साथ जाँच्ने भएकाले आवश्यक परे पुनः पेनाल्टी प्रहार गर्ने अवसर पनि दिन्छ । त्यसैले सफलताको दर बढ्नुपर्ने अपेक्षा गरिए पनि वास्तविकता भने ठिक उल्टो देखिएको छ ।

विश्लेषकहरूका अनुसार, यसको मुख्य कारण आधुनिक फुटबलमा तथ्यांक र भिडियो विश्लेषणको बढ्दो प्रयोग हो । गोलरक्षकहरूले विपक्षी खेलाडीका विगतका सबै पेनाल्टीको अध्ययन गरेर कुन दिशामा प्रहार हुन सक्छ भन्ने अनुमान गर्न सक्षम भएका छन् । जुन पहिले थिएन ।

उमेर होइन, अनुभव नै ठूलो सम्पत्ति

विश्व फुटबलमा सामान्यतः युवा खेलाडीहरू चर्चाको केन्द्रमा रहने गर्छन् । मेक्सिकोका किशोर प्रतिभा गिल्बेर्टो मोरा यस विश्वकपकै पछिल्लो उदाहरण हुन् । उनी विश्वकपमा खेल्ने छैटौं सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

तर, २०२६ विश्वकपले प्रशिक्षकहरूले अनुभवी खेलाडीमाथिको विश्वास अझै कायम रहेको सन्देश दिएको छ । लियोनल मेसी (३९ वर्ष) र भोजिन्हा (४० वर्ष) जस्ता खेलाडीले अनुभवको मूल्य मैदानमै प्रमाणित गरेका छन् । जारी विश्वकपमा सहभागी सबैभन्दा पाका खेलाडी क्रायग गोर्डोन ४३ वर्ष) भए पनि मैदानमा खेल्ने सबैभन्दा उमेर पुगेका खेलाडी क्रिस्टियोनो रोनाल्डो ४१ वर्षका हुन् ।

तथ्यांकले अझ रोचक तथ्य देखाउँछ । सन् १९६६ यता कुनै पनि विश्वकपमा यसपालिको जति वृद्ध औसत प्रारम्भिक टोली देखिएको थिएन । यस संस्करणमा प्रारम्भिक ११ खेलाडीको औसत उमेर २८ वर्ष ११७ दिन रहेको छ । यसको तुलनामा २०२२ विश्वकपमा यो औसत २७ वर्ष २९९ दिन थियो । सबैभन्दा युवा विश्वकप भने १९७० को मेक्सिको संस्करण थियो, जहाँ प्रारम्भिक टोलीको औसत उमेर २६ वर्ष ७६ दिन मात्र थियो । यसले एउटा स्पष्ट सन्देश दिन्छ- फुटबलमा अनुभव अझै पनि अमूल्य सम्पत्ति हो ।

नयाँ नियमबाट खेल अझ छिटो र रोमाञ्चक

यो परिवर्तन विश्वकपमा टोलीको संख्या ४८ पुगेकाले मात्र होइन, फिफाले समय खेर फाल्ने प्रवृत्ति रोक्न ल्याएका नयाँ नियमहरूको प्रभाव पनि हो । गोल किकका बेला समय खेर फाल्न नदिन पाँच सेकेन्डको काउन्टडाउन लागु गरिएपछि गोलकिक लिन लाग्ने औसत समय २०२२ को २७.७ बाट घटेर २३.८ सेकेन्डमा झरेको छ ।

यस्तै, थ्रो-इनका लागि पनि पाँच सेकेन्डको सीमा लागु गरिएपछि औसत समय १५.७ बाट १३.३ सेकेन्डमा झरेको छ । हेर्दा दुई सेकेन्डको अन्तर सानो लागे पनि, प्रत्येक खेलमा औसत ३५.९ वटा थ्रो-इन हुने भएकाले समग्रमा एक खेलमा झण्डै २ मिनेट ४५ सेकेन्ड अतिरिक्त फुटबल खेलिएको छ । उत्तर अमेरिकामा टिकट महँगा भए पनि दर्शकहरूले कम्तीमा मैदानमा बढी फुटबल भने हेर्न पाइरहेका छन् ।

‘सुपर सब्स’ फेरि निर्णायक

विश्वकप जित्ने टोलीसँग केवल उत्कृष्ट प्रारम्भिक ११ खेलाडी मात्र होइन, बलियो बेन्च पनि हुनुपर्छ भन्ने कुरा यस संस्करणले पुनः प्रमाणित गरेको छ । अहिलेसम्म भएका २५० मध्ये ५२ गोल प्रतिस्थापन खेलाडीले गरेका छन् । अर्थात् कुल गोलको १८.६ प्रतिशत बेन्चबाट आएका खेलाडीको नाममा रहेको छ । यो प्रतिशत २०१४ विश्वकप (१८.७ प्रतिशत) पछिकै उत्कृष्ट हो ।

यसका केही कारण स्पष्ट छन् । जस्तै पाँच प्रतिस्थापनको नियम, अत्यधिक गर्मी र आर्द्र मौसम, उच्च उचाइ भएका रंगशाला, लामो घरेलु लिग खेलेर थाकेका खेलाडी । यी सबै कारणले अन्तिम समयमा मैदानमा आउने ताजा खेलाडीहरू निर्णायक बन्दै गएका छन् ।

अन्तिम मिनेट अब सबैभन्दा खतरनाक

यस विश्वकपमा इन्जुरी समयमा गोल हुने क्रम इतिहासकै उच्चस्तरमा पुगेको छ । कुल गोलमध्ये ११.४ प्रतिशत ९० प्लस वा १२० प्लस मिनेटमा भएका छन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो अनुपात हो । यसअघि २०१८ मा यो प्रतिशत ११.२ र २०२२ मा ८.७ थियो । अन्तिम समयमा भएका ३२ मध्ये १७ गोल प्रतिस्थापन खेलाडीले गरेका छन् ।

यसको अर्को कारण दोस्रो हाफको बीचमा दिइने हाइड्रेसन ब्रेक पनि हो । यसले प्रत्येक खेलमा कम्तीमा तीन मिनेट अतिरिक्त समय थपिने भएकाले अन्तिम समयमा गोल गर्ने अवसर पनि बढेको छ । यदि खेल तालिका अझ व्यस्त बन्दै गयो भने भविष्यमा पनि अन्तिम मिनेटका गोलको संख्या अझ बढ्न सक्ने सम्भावना देखिन्छ ।

युरोपेली टोलीहरूको दबदबा

युरोपबाहिर आयोजना हुने विश्वकपमा युरोपेली टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सक्दैनन् भन्ने धारणा लामो समयदेखि रहँदै आएको थियो । तर, उत्तर अमेरिकामा भइरहेको २०२६ विश्वकपले त्यो धारणा तोडिदिएको छ ।

क्वार्टरफाइनलमा पुग्ने आठ टोलीमध्ये ६ टोली युरोपका छन् । स्विट्जरल्यान्ड क्वार्टरफाइनल पुग्ने छैटौं युरोपेली टोली बनेसँगै लगातार तेस्रो विश्वकपमा क्वार्टरफाइनलमा आधाभन्दा बढी स्थान युरोपेली राष्ट्रहरूले कब्जा गरेका छन् । यसअघि २००६ पछि यस्तो अवस्था विरलै देखिएको थियो । यसले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा युरोपेली टोलीहरूको निरन्तर बलियो उपस्थिति अझ स्पष्ट रूपमा देखाएको छ ।

Logo