नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुसाउ, नाइजेरिया । नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् ।

सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्।

सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् ।

गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले भने, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो ।”

“सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,” मुहम्मदले एएफपीलाई बताए ।

अर्का बासिन्दा अबुबकर कुदी–कासाले भने, “बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो। लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन्,” कुदी–कासाले अगाडि भने । -एएफपी

Logo