मेयर कप भलिबल: इलिक्सर एकेडेमी फर्स्ट रनर अप

मेयर कप भलिबल: इलिक्सर एकेडेमी फर्स्ट रनर अप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालित ‘बागमती प्रदेश स्तरीय मेयर कप–२०८३ भलिबल प्रतियोगिता’ अन्तर्गत छात्रातर्फ चावहिलको कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ ।

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आज भएको निकै रोमाञ्चक फाइनल खेलमा इलिक्सर एकेडेमीलाई पराजित गर्दै बेथान पहिलो हुन सफल भएको हो। उपाधि नजिक पुगेर चुकेको इलिक्सर एकेडेमी भने उपविजेता (दोस्रो) स्थानमा चित्त बुझाउन बाध्य भएको छ।

कुल पाँच सेटको उक्त भिडन्तमा बेथान गाउँपालिकाले इलिक्सर एकेडेमीमाथि ३−१ को सेटमा जित दर्ता गरेको थियो । खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक र उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। जसअन्तर्गत खेलको पहिलो सेटमा उत्कृष्ट सुरुवात गर्दै बेथान गाउँपालिकाले खेल आफ्नो पक्षमा पारेको थियो।

तर, खेलको दोस्रो सेटमा भने इलिक्सर एकेडेमी अन्तर्गत सञ्चालित इलिक्सर स्पोर्ट्स क्लबले बलियो पुनरागमन गर्‍यो। सम्हालिएको प्रदर्शन गर्दै इलिक्सरले दोस्रो सेट आफ्नो पोल्टामा पारेपछि खेल १−१ को रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो।

बराबरीपछि निकै दबाबपूर्ण बनेको तेस्रो सेटमा बेथानका खेलाडीहरूले उत्कृष्ट ब्लकिङ र सटिक स्पाइकको मद्दतले पुनः खेलमा अग्रता बनाए। चौथो सेटमा पनि सोही लयलाई निरन्तरता दिँदै बेथानले इलिक्सरमाथि पूर्ण दबाब कायम राख्यो र लगातार तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो।

प्रतियोगितामा उपविजेता बनेको इलिक्सर एकेडेमीले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी, व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको छ। जसमा सारिका कार्की ‘बेस्ट ब्लकर’ र सुनिता बस्नेत ‘बेस्ट स्पाइकर’ घोषित भइन्। उत्कृष्ट विधा तर्फका विजेताहरूले जनही ५,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

Logo