नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् ।

सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्।

सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् । गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले बताउनुभयो, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो ।

“सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,” मुहम्मदले एएफपीलाई बताए ।

अर्का बासिन्दा अबुबकर कुदी–कासाले भने, “बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो।” “लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन्,” कुदी–कासाले अगाडि भने ।

दुई हप्ता अघि सेनाले लुटेराहरूको शिविरमा हमला गर्न खोजेको थियो तर “अत्यधिक सङ्ख्या र राम्रोसँग सुसज्जित सशस्त्र’ लुटेरासँग लड्ने बल नपुग्ने अनुमानपछि फिर्ता हुनुपरेको थियो।“सेनाले राम्रो तयारी गरेर फर्किएर उनीहरूमाथि कडा प्रहार गर्यो,” उनले भने । अर्का बासिन्दा शेहु दान्दारेले पनि सेनाले ‘गिरोहहरूलाई बमबारी’ गरेर ३०० भन्दा बढी मारिएको बताए ।

पूर्वोत्तर नाइजेरियामा सन् २००९ देखि सुरुमा बोको हराम, त्यसपछि यसको शाखा तथा प्रतिद्वन्द्वी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स नामक इस्लामिक चरमपन्थी विद्रोह चलेको छ । हालैका महिनाहरूमा नाइजेरियाले जिहादीहरूलाई मार्न सफलता पाएको दाबी गरेको छ। यसअघि क्रिसमसको दिन अमेरिकी हवाई हमला र नाइजेरियाली सेनाको सहकार्यमा सोकोतो राज्यमा गरिएको कारबाहीमा लुटेरा समूहतर्फ ठूलो क्षति भएको थियो ।

अमेरिकाले नाइजेरियाली सेनालाई सहयोग र तालिम दिन सयौँ सैनिक खटाएको छ। अमेरिका–नाइजेरिया संयुक्त कारबाहीमा इस्लामिक स्टेट समूहको विश्व स्तरको दोस्रो कमान्डरसहित करिब २०० लडाकुहरू मारिएका थिए।

Logo