काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ११ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्बिर सेयर गर्दै खोला किनारमा सुकुमवासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नुपरेको स्टाटस लेखे।
उनले लेखेका थिए, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ? हरेक वर्षको बाढीका कारण काठमाडौंका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको, अनि सरकारले उद्धार गर्नुपरेको दृश्य ! यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।’
प्रधानमन्त्री शाहले नदी किनारका सुकुमवासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नुपरेको स्पष्टीकरण दिएका थिए। र, भोलिपल्ट बिहानैदेखि सरकारले सुकुमवासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुमवासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। शुक्रबार राति साढे १२ बजेदेखि कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुमवासी थप बिचल्लीमा परे। बिहान ५ बजे होल्डिङ सेन्टर पुग्दा विस्थापित सुकुमवासीको आश्रयस्थल जलमग्न देखिन्थ्यो। उनीहरू अनिँदो आँखा लिएर बाहिर टोलाउँदै बसिरहेका थिए।
गेटनजिकै थुपारिएका लथालिंग सामान हेरेर कोही टाउकोमा हात लगाइरहेका थिए त कोही भिजेका कपडा टक्टक्याउँदै थिए। दुई वटा झोला काँधमा भिरेकी गायत्री श्रेष्ठ आँखा मिच्दै गरेकी चार वर्षीया छोरीको हात समातिरहेकी थिइन्। उनकी छोरी खाली खुट्टाले चिसो भुइँमा उभिएर काम्दै थिइन्। ‘यसको जुत्ता चप्पल, लुगा, किताबकापी केही निकाल्न पाइएन, सबै डुबानमा पर्यो,’ निन्याउरो अनुहार लगाइरहेकी छोरीलाई हेर्दै गायत्रीले पीडा पोखिन्।
शुक्रबार साँझदेखि परेको अविरल वर्षाले बागमती खोला बढिरहेको थियो। रातको करिब साढे १२ बजेतिर होल्डिङ सेन्टरभित्र अचानक होहल्ला बढ्यो। मस्त निदाइरहेको गायत्रीको परिवार पनि ब्युँझियो। ‘पानी त माथि–माथिसम्म आउन सुरु भइसकेछ, हतार–हतार उठ्यौं, दुइटा ब्याग र अलि–अलि कागजात निकालेर बाहिर आयौं,’ गायत्रीले सुनाइन्।
सरकारले १२ वैशाखदेखि सुकुमवासी बस्ती भत्काउन थालेपछि थापाथली र शान्तिनगरका विस्थापितले यहाँको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए। उनीहरू टेन्टभित्र बास बस्थे। ‘सरकारले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भनेको थियो, तर यहाँको बाढी त त्यहाँको भन्दा नि ठूलो भयो,’ भित्तामा अडेसिएर चिन्तित कमली उराउले भनिन्।
अर्की विस्थापित सुकुमवासी प्रमिला राईले प्रधानमन्त्रीले भनेको सुरक्षित ठाउँ यस्तो पो रहेछ, किनारमा असुरक्षित छौं भन्ने थाहा हुने प्रधानमन्त्रीलाई यहाँ पनि सुरक्षित छैनौं भन्ने किन थाहा भएन?’ होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुरक्षाकर्मी करिब २ बजे आइपुगेका थिए। बिहान डुंगामा तैरिएर केही विस्थापित सुकुमवासीसँगै सुरक्षाकर्मीले सामानहरू खोजिरहेका थिए।
कक्षा ५ मा पढ्ने रिजन लामा दुई महिनाअघि मात्र नयाँ किताब, नयाँ ड्रेस पाएर फुरुंग भएका थिए। तर उनको खुसी लामो समय टिक्न पाएन। रातिको बाढीमा केही पनि बाँकी रहेनन्। होमवर्क गरेर शिक्षकलाई बुझाउने कापी पनि जोगाउन पाएनन् उनले। ‘सुतिरहेको थिएँ। केही निकाल्न पाइनँ। उठेर हिडें,’ उनले रुन्चे स्वरमा भने।
त्यहाँ भएका विस्थापितहरू पनि आफूहरूलाई सरकारले थप बिचल्लीमा पार्ने र बच्चाहरूको पढाइ बिग्रने भन्दै कतै नजाने अडान लिइरहेका थिए। उनीहरूलाई भक्तपुर लैजानका लागि सुरक्षाकर्मीका गाडी तैनाथ थिए। रास्वपाबाट काठमाडौं–१० मा विजयी भएका प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट सम्झाइरहेका थिए, ‘तपाईंहरू ढुक्क हुनुस्, सरकारले हेर्छ। स्कुल त्यहाँ पनि छन्। बच्चाहरूको पढाइ बिग्रन्न। जिम्मा सरकारले लिन्छ। अहिले गाडीमा बस्नुस्। खरिपाटीमा राम्रो व्यवस्था छ।’
उनीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालका स्वकीय सचिवहरू विवेक बास्तोला र अनुप मगर पनि विस्थापित सुकुमवासीलाई बिचल्लीमा नपार्ने भन्दै सम्झाइरहेका थिए। तर विस्थापित अञ्जली पासवानले दुखेसो पोख्दै भनिन्, ‘हामी जाँदैनौं। बच्चाहरूको पढाइ उसो त बिग्रिएको छ, सरकारले हामीलाई त्यहाँबाट पनि निकाल्छ।’
विस्थापित सुकुमवासीको व्यवस्थापनका विषयमा काम गरिरहेका विवेकका अनुसार कीर्तिपुर होल्डिङ सेन्टरमा ६५ परिवारका १ सय ५४ जनाको नाम दर्ता भएको थियो । त्यसमध्ये ३५ परिवारले स्वव्यवस्थापनका लागि भनेर वितरण गरेको २५ हजार प्राप्त गरेका छन्। २७ परिवारले भने अहिलेसम्म निवेदन दिएका छैनन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनले पनि अब अर्को व्यवस्थापन नभइन्जेल कीर्तिपुर होल्डिङ सेन्टरका विस्थापितलाई खरिपाटी लैजाने बताए।






























