एयर फोर्स वानको समाचारपछि न्युयोर्क टाइम्सका पत्रकारलाई अदालतमा बोलाइयो

एयर फोर्स वानको समाचारपछि न्युयोर्क टाइम्सका पत्रकारलाई अदालतमा बोलाइयो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अमेरिकी दैनिक न्युयोर्क टाइम्सका केही पत्रकारलाई अदालतमा उपस्थित भई बयान दिन ‘समन’ जारी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ एयर फोर्स वान (राष्ट्रपतिको विशेष विमान)को सुरक्षासम्बन्धी समाचार प्रकाशित गरेपछि ‘समन’ जारी गरिएको हो ।

न्युयोर्क टाइम्सका अनुसार, संघीय एजेन्टहरूले केही पत्रकारको घरमै पुगेर उनीहरूलाई संघीय ग्रान्ड जुरीसमक्ष उपस्थित हुन आदेश दिएका छन् । संघीय ग्रान्ड जुरीले सम्भावित गोप्य सूचना चुहावटसम्बन्धी अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचारपत्रले कतारले उपहारस्वरूप दिएको नयाँ विमान पर्याप्त सुरक्षित नरहेको समाचार प्रकाशित गरेको थियो । साथै, टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्कने क्रममा अमेरिकी सिक्रेट सर्भिसले ट्रम्पलाई नयाँ विमान प्रयोग नगरी पुरानो एयर फोर्स वानबाट फर्कन सुझाव दिएको दाबी गरिएको छ ।

अमेरिकी न्याय मन्त्रालयले बीबीसीसँगको प्रतिक्रियामा आफूहरूले गोप्य सूचना चुहावटको अनुसन्धान गरिरहेको पुष्टि गरे । मन्त्रालयले भनेको छ, “हाम्रो अनुसन्धानको लक्ष्य पत्रकार होइनन्, वर्गीकृत सूचना चुहाउने व्यक्तिहरू हुन् ।”

न्युयोर्क टाइम्सका प्रमुख कानुनी सल्लाहकार डेभिड म्याकक्राले ‘समन’लाई निर्लज्ज कदमको संज्ञा दिएका छन् । यसले पत्रकारलाई त्रसित बनाएर आफ्नो काम गर्नबाट रोक्ने र जनतालाई सरकारबारे जानकारी पाउने अधिकार कमजोर पार्ने प्रयास भएको बताएका छन् ।

टाइम्सका अनुसार, समनमा पत्रकारहरूको बयान संघीय फौजदारी कानुनको सम्भावित उल्लंघनसम्बन्धी अनुसन्धानका लागि आवश्यक रहेको उल्लेख गरिएको छ । उनीहरूलाई आगामी बुधबार म्यानहटनस्थित संघीय ग्रान्ड जुरीसमक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।

अमेरिकामा ग्रान्ड जुरी सर्वसाधारण नागरिकहरूको समूहबाट गठन गरिन्छ । यसले प्रस्तुत प्रमाणहरूको समीक्षा गरी कुनै व्यक्तिविरुद्ध फौजदारी अभियोग दायर गर्न पर्याप्त आधार छ वा छैन भन्ने निर्णय गर्छ ।

न्युयोर्क टाइम्सले नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै एयर फोर्स वानको सुरक्षा अवस्थाबारे समाचार प्रकाशित गरेको थियो । अमेरिकामा वर्गीकृत सूचना चुहाउनु अपराध मानिए पनि संविधानले सार्वजनिक हितसँग सम्बन्धित विषयमा समाचार प्रकाशन गर्ने प्रेस स्वतन्त्रताको संरक्षण गरेको छ ।

न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी प्रेसको भूमिकाको सम्मान गर्छौं । तर, राष्ट्रका गोप्य सूचनाको जिम्मेवारी पाएका व्यक्तिहरूले ती सूचना सुरक्षित राखून् भन्ने सुनिश्चित गर्नु पनि न्याय मन्त्रालयको दायित्व हो ।”

टाइम्सले यसअघि ट्रम्प नयाँ एयर फोर्स वानबाट नाटो शिखर सम्मेलनमा पुगे पनि सुरक्षा निकायको सल्लाहपछि पुरानो विमानमार्फत अमेरिका फर्किएको समाचार प्रकाशित गरेको थियो । त्यसको भोलिपल्ट प्रकाशित अर्को समाचारमा नयाँ विमानमा अत्याधुनिक सुरक्षा प्रणाली, विशेषगरी मिसाइल प्रतिरोधी प्रणाली, पूर्ण रूपमा जडान नभएको भन्दै सुरक्षा अधिकारीहरू चिन्तित रहेको उल्लेख गरिएको थियो ।

म्याकक्राले भने, “हाम्रा पत्रकारहरूले तथ्यमा आधारित समाचार प्रस्तुत गर्छन् । अमेरिकी जनताले आफ्नो सरकार कसरी सञ्चालन भइरहेको छ र करदाताको पैसा कसरी खर्च भइरहेको छ भन्ने जानकारी पाउने अधिकार छ ।”

गत महिना ट्रम्पले कतार सरकारले गत वर्ष अमेरिकालाई बिनासर्त उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७–८ विमानलाई भावी एयर फोर्स वानका रूपमा सार्वजनिक गरेका थिए ।

Logo