काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।
सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच आज भएको ९ बुँदे सहमतिअनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको हो । अब काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले लेखी पठाउने छ ।
सहमतिको बुँदा नम्बर ३ मा भनिएको छ, ‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदनरसिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय, काठमाडौंबाट लेखी पठाउने ।’
बिहीबार महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए र शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।






























