काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले प्रयोगात्मक हस्पिटालिटी शिक्षाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै ‘म्यांगो मास्टर्स’ नामक अन्तर–कलेज पाक प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता र नेपालको समृद्ध कृषि उत्पादनलाई सम्मान गर्न आयोजित यो प्रतियोगिताले भविष्यका शेफहरूलाई वास्तविक प्रतिस्पर्धाको वातावरणमा व्यावसायिक सीप देखाउने अवसर प्रदान गरेको थियो ।
सिल्भर माउन्टेनको ‘फिलोसोफी ल्याब’मा आयोजित प्रतियोगितामा कक्षाकोठाको ज्ञानलाई उद्योगस्तरीय अभ्यासमा उतारिएको थियो । प्रतियोगितामा विद्यार्थी शेफहरूलाई नेपालमा स्थानीय रूपमा उत्पादित विभिन्न जातका आँपको प्रयोग गरी नवीनतम परिकार तयार गर्न दिइएको थियो ।

प्रतियोगितामा जम्मा ३० विद्यार्थी शेफहरूले सलाद, क्षुधावर्धक (एपेटाइजर), मुख्य परिकार र डेजर्ट गरी विविध विधाहरूमा प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक परिकारलाई स्वाद, प्रस्तुतीकरण, सिर्जनशीलता र स्थानीय आँपका प्रजातिहरूको प्रभावकारी प्रयोगको आधारमा निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो ।
निर्णायक मण्डलमा काठमाडौं म्यारियट होटलका कार्यकारी शेफ सुभेन्दु रोय, नेपाल शेफ सङ्घका अध्यक्ष शेफ पदम आले मगर र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका कर्पोरेट शेफ डा. (शेफ) सुभदीप मजुमदार रहेका थिए । निर्णायक मण्डलले विद्यार्थीहरूलाई उद्योगको मापदण्ड र अपेक्षाबारे बहुमूल्य व्यावसायिक प्रतिक्रिया दिएका थिए, जहाँ उत्कृष्ट ‘म्यांगो कबाब’ को प्रथम विजेता शेफ सर्जन महर्जन भए भने, दोस्रोमा ‘म्यांगो कोटेड प्राउन’ का लागि शेफ नवीना श्रेष्ठ र द्वितीयमा ‘द लोटस’ का लागि अनुष्का लामा विजयी भएका थिए । विजेताहरूलाई सिल्भर माउन्टेनका प्रिन्सिपल तथा संस्थापक अध्यक्ष समीर थापाले पुरस्कार प्रदान गरेका थिए ।

सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै प्रिन्सिपल थापाले भविष्यका आतिथ्य विज्ञहरू निर्माणमा व्यावहारिक सिकाइ र उद्योगसँगको सहकार्यको महत्वमाथि जोड दिए । उनले भने, “यो त विद्यार्थी जीवनको सुरुवात मात्र हो । प्रत्येक विद्यार्थीले प्रतिस्पर्धालाई आत्मविश्वास बढाउने मार्गका रूपमा लिनुपर्छ, ताकि उनीहरू वास्तविक उद्योगमा प्रवेश गर्दा वास्तविक रूपमा प्रतिस्पर्धा गर्न सकून् ।”

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले विगत २५ वर्षभन्दा लामो अवधिदेखि अन्तर्राष्ट्रिय स्तरको केन्द्रित शिक्षा, व्यावहारिक सिकाइ र सुदृढ उद्योग सहकार्यमार्फत भविष्यका हस्पिटालिटी विज्ञ तयार गर्दै आइरहेको छ । यस संस्थाले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतासँगै व्यावहारिक अनुभव निर्माण गर्न सक्षम बनाउन प्रतियोगिता, प्रत्यक्ष कार्यक्रम, कार्यशाला तथा विख्यात शेफ र हस्पिटालिटी नेतृत्वकर्ताहरूसँगको अन्तर्क्रियाका निरन्तर अवसरहरू प्रदान गर्दछ ।






























