काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथाचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






























