काठमाडौं । फ्रान्सको आक्रमणलाई सेमिफाइनलमा रोक्नुपर्ने चुनौती एमेरिक लापोर्टे नेतृत्वमा रहेको स्पेनको रक्षापंक्तिसामु आएको छ। स्पेनले बेल्जियमविरुद्ध क्वाटरफाइनल खेल्नुअघि कुनै गोल खर्चेको थिएन। केवल ६ पटकमात्र स्पेनविरुद्ध पोस्टमा आक्रामण भएको थियो।
फ्रान्समा जन्मिएर फ्रान्सकै विभिन्न उमेर समूहबाट खेलेका लापोर्टे बुधबार फ्रान्सविरुद्ध नै उत्रँदै छन्। फ्रान्समा युवावस्था बिताएपछि लापोर्टेले २०२१ देखि स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। उनले पहिलो युरो २०२० मा खेले, जुन कोभिडका कारण २०२१ मा भएको थियो।
२०२४ को युरोपियन च्याम्पियनसिप दिलाउन प्रमुख भूमिका खेलेका उनले स्पेनबाट ५२ खेल खेलिसके। यस विश्वकपमा ३२ वर्षे लापोर्टेले सबै ६ खेल खेलेका छन्। सेन्ट्रल डिफेन्सको भूमिकामा खेल्ने उनले २ गोल गरेका छन्।
उनी लेफ्ट ब्याकको पोजिसनमा पनि खेल्न सक्छन्। एथलेटिक बिलबाओबाट २०१२ देखि खेलेपछि उनी ५ करोड ७० लाख पाउन्डमा २०१८ मा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी गएका थिए, जहाँ उनले २०१९ तेहेरो उपाधि जितेका थिए। २०२३ मा साउदी अरेबियाको टोली अल नासर गएका उनी गत वर्ष पुनः बिलबाओ फर्केका थिए।






























