काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनःबहाली भएकी छन्। विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि सरकारको निर्णयअनुसार उनको निलम्बन फुकुवा भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयपछि उनी आफ्नो पदमा फर्किएकी हुन्।
पदबहालीका क्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले विगतका आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको बताइन्। उनले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कर्मचारीहरूलाई आग्रह गर्दै भनिन्, “सत्यनिष्ठ भई काम गर्न डराउनु पर्दैन।” आफ्नो अनुपस्थितिमा कम्पनीलाई सम्हाल्ने सम्पूर्ण टिमलाई उनले धन्यवाद समेत दिइन्।
आगामी दिनमा कम्पनीको आन्तरिक प्रक्रियामा सुधार गर्दै बाह्य दृष्टिकोणलाई समेत ध्यान दिएर काम गरिने उनले स्पष्ट पारिन्।






























