बालकृष्ण खाणले जेल नगईकन मुद्दाको पुनरावेदन गर्न सक्ने, यस्तो छ कानूनी सुविधा

बालकृष्ण खाणले जेल नगईकन मुद्दाको पुनरावेदन गर्न सक्ने, यस्तो छ कानूनी सुविधा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आज नक्कली भुटानी शरणार्थी मुद्दामा दोषी ठहरिएकाहरूलाई सजाय निर्धारण गरेको छ । जसअनुसार पूर्वमन्त्री बालकृष्ण खाणले दुई वर्ष जेल र २० हजार जरिवानाको सजाय पाएका छन् ।

खाणलाई यस प्रकरणको योजनाकार नभई मतियार मात्र भएको ठहर गर्दै अदालतले फितलो सजाय सुनाएको हो । २ वर्षको जेल सजाय सुनाइएकोमा उनले यसअघि करिब ७ महिना जेल बसिसकेकाले त्यो कटौती हुन्छ । उनी करिब १५ महिना जेल बस्नुपर्छ ।

तर, खाणसँग जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्ने सुविधा छ । नेपालको कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय पाएकाहरूले यो सुविधा पाउँछन् । थुनछेक आदेश हुँदा धरौटीमा छुटेकाहरूलाई फैसलामा १० वर्षभन्दा कम सजाय भएको खण्डमा तोकिएको जेल सजाय बराबर दैनिक तीन सय रुपैयाँको दरले पैसा बुझाएर कारागारमा बस्नु नपर्ने कानूनी व्यवस्था रहेको छ ।

खाण दैनिक तीन सयका दरले १५ महिनाको करिब १ लाख ३५ हजार रुपैयाँ र अदालतले तोकेको जरिवाना २० हजार रुपैयाँ तिरेर सर्वोच्चमै पुनरावेदन गर्न सक्छन् । पुनरावेदनको फैसला नआउँदासम्म उनी जेल जानु पर्दैन । फैसला आएपश्चात् अदालतले भनेबमोजिम हुन्छ । सफाइ पाएको खण्डमा आफूले तिरेको पैसा र धरौटी फिर्ता पाउँछन् । पुनरावेदनले पनि यही निर्णय सदर गर्‍यो भने चाहिँ खाण जेल बस्नै पर्छ । त्यसबेला उनले पैसा फिर्ता पाउँछन् र जेल सजाय भुक्तानी गर्छन् ।

अर्कापूर्वमन्त्री टोपबहादुर रायमाझीका हकमा भने यो सुविधा हुनेछैन । उनले जेलभित्रै बसेर पुनरावेदन गर्नुपर्ने हुन्छ । अदालतले पुर्पक्षमा लागि थुनामा राख्ने आदेश दिएको हुँदा उनले सजाय भुक्तान नभएसम्म बाहिर निस्किन नपाउने भएका हुन् । बालकृष्ण खाण सहित भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका सबैले बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाउनेछन् ।

Logo