काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको अमेरिकी सैन्य आक्रमण आफूले पर्याप्त भयो भन्ने निर्णय नगरेसम्म जारी रहने बताएका छन् ।
फक्स न्युजको स्पेसल रिपोर्ट कार्यक्रममा मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानको सैन्य क्षमता कमजोर भइसकेको दाबी गरे । उनले इरानसँग अझै केही लड्ने क्षमता बाँकी रहे पनि धेरै नभएको बताए ।
अमेरिकी आक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “मैले पुग्यो नभनेसम्म आक्रमण जारी रहनेछ ।” ट्रम्पले अर्को हप्ता इरानका ऊर्जा तथा यातायात पूर्वाधारमाथि थप आक्रमण हुनसक्ने संकेत दिएका छन् ।
ट्रम्पका अनुसार अमेरिकाले मंगलबार इरानसँग वार्ता गर्नेछ । तर, कुनै सम्झौता नभए सैन्य कारबाही अझ तीव्र बनाइने उनले चेतावनी दिए । ट्रम्पले इरानले वार्तामा नआए विद्युत् केन्द्र र पुलजस्ता महत्वपूर्ण पूर्वाधारहरू पनि सम्भावित निशानामा पर्ने चेतावनी दिएका छन् । उनले भने, “यदि, उनीहरू वार्ताको टेबलमा आएनन् भने हामी उनीहरूका सबै पावर प्लान्टहरू ध्वस्त पार्नेछौँ । हामी उनीहरूका सबै पुलहरू भत्काइदिनेछौँ ।”
अर्को हप्ता उनीहरूका लागि निकै खराब हुने उनको भनाइ छ । अर्को हप्ता पावर प्लान्टहरूमा आक्रमणको पालो आउनेछ, त्यसपछि पुलहरूको पालो आउने ट्रम्पको चेतावनी छ ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमहरूले देशका दक्षिणी सहरहरू, तटीय क्षेत्र तथा होर्मुज जलमार्ग आसपासका टापुहरूमा लगातार विस्फोट भइरहेको जनाएका छन् । डीडब्ल्यू






























