काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार एटलान्टा स्टेडियममा हुने बहुप्रतीक्षित इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल खेलमा मोरक्कोमा जन्मिएका अमेरिकी रेफ्री इस्माइल एल्फाथले मुख्य रेफ्रीको जिम्मेवारी पाएका छन्।
४४ वर्षीय एलफाथले यस विश्वकपमा चौथो खेल सञ्चालन गर्न लागेका हुन्। यसअघि उनले समूह चरणमा जापान र नेदरल्यान्ड्सबीच २–२ को बराबरी तथा स्पेनले उरुग्वेलाई १–० ले हराएको खेलमा रेफ्रीको भूमिका निभाएका थिए। त्यसपछि अन्तिम १६ मा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको खेल पनि उनैले सञ्चालन गरेका थिए।
मोरक्कोको कासाब्लांकामा जन्मिएका एल्फाथ सन् २००१ मा १७ वर्षको उमेरमा अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रममार्फत अमेरिका पुगेका थिए। टेक्सास विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनी पछि अमेरिकी नागरिक बने । हाल उनी टेक्सासको अस्टिनमा बसोबास गर्दै आएका छन्।
एल्फाथले सुरुमा खेलाडीका रूपमा फुटबल खेलेका थिए। उनी अमेरिकी युएसएल लिग–२ अन्तर्गत अस्टिन लाइटनिङ क्लबका फरवार्ड थिए। तर खेलका क्रममा रेफ्रीका निर्णयप्रति बारम्बार असन्तुष्टि जनाएपछि उनलाई आफैं रेफ्री बन्न सुझाव दिइएको थियो।
सन् २०२२ मा दिएको एक अन्तर्वार्तामा एल्फाथले भनेका थिए, ‘म निकै रिसाहा खेलाडी थिएँ। म सधैं रेफ्रीको निर्णयको आलोचना गर्थें। त्यसपछि एक दिन लिगका जिम्मेवार व्यक्तिले ‘यति धेरै गुनासो गर्छौ भने आफैं रेफ्री बन’ भने।’
त्यसपछि उनले रेफ्री तालिम लिएर विद्यालय, युवा तथा अर्धव्यावसायिक प्रतियोगितामा खेल सञ्चालन गर्न थाले। त्यही समयमा उनी सूचना प्रविधि (आईटी) बिक्री क्षेत्रमा पूर्णकालीन जागिर पनि गरिरहेका थिए।
सन् २०११ मा उनी मेजर लिग सकर (एमएलएस)मा फोर्थ अफिसियल बने भने २०१२ देखि मुख्य रेफ्रीका रूपमा नियुक्त भए। सन् २०१६ मा उनी आधिकारिक रूपमा फिफा रेफ्रीको सूचीमा समावेश भए।
सन् २०१६ मै एल्फाथले विश्व फुटबलको एउटा ऐतिहासिक क्षण पनि सञ्चालन गरेका थिए। न्यूयोर्क रेड बुल्स–२ र ओर्लान्डो सिटी बीबीचको युएसएल खेलमा पहिलो पटक मैदानभित्र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को समीक्षा प्रयोग गरिएको थियो, जसका मुख्य रेफ्री एलफाथ नै थिए। एमएलएसमा १४ वर्षको करिअरमा उनी दुई पटक वर्षको उत्कृष्ट रेफ्री ९२०२० र २०२२० घोषित भएका छन्।
एल्फाथले टोकियो ओलम्पिक २०२०, अफ्रिका कप अफ नेसन्स २०२१ लगायतका प्रतिष्ठित प्रतियोगितामा खेल सञ्चालन गरिसकेका छन्। उनले कतारमा भएको फिफा विश्वकप २०२२ मार्फत पहिलो पटक विश्वकपमा रेफ्रीको भूमिका निभाएका थिए।
त्यसबेला उनले भनेका थिए, ‘म तीन हिसाबले अल्पसंख्यक हुँ—आप्रवासी, अफ्रिकी मूलको र मुस्लिम। अमेरिकाको एकमात्र प्रतिनिधि हुनु गौरवको विषय हो। यसले प्रमाणित गर्छ कि कुनै पनि सपना सम्भव छ।’
कतार विश्वकपमा उनले दुई समूह चरणका खेल र एक नकआउट खेल सञ्चालन गरेका थिए। साथै अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको फाइनलमा उनी फोर्थ अफिसियल पनि थिए।
कतार विश्वकपमा क्यामरुनका भिन्सेन्ट अबुबकरले ब्राजिलविरुद्ध इन्जुरी समयमा विजयी गोल गरेपछि खुसीयालीमा जर्सी फुकालेका थिए। त्यसका कारण एलफाथले उनलाई दोस्रो पहेंलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। तर कार्ड देखाएलगत्तै उनले मुस्कुराउँदै अबुबकरसँग हात मिलाएको दृश्य विश्वभर चर्चित बनेको थियो।
विश्वकप २०२६ एल्फाथको दोस्रो विश्वकप सहभागिता हो। यस संस्करणमा सहभागी भएका आठ अमेरिकी रेफ्रीमध्ये उनी एक हुन्, जुन अमेरिकी रेफ्रीहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिनिधित्व हो।
यस विश्वकपमा उनले सञ्चालन गरेका तीन खेलमा हालसम्म सात पहेंलो कार्ड र एक रातो कार्ड देखाएका छन्। रातो कार्ड उरुग्वेका अगस्टिन कानोब्बियोलाई स्पेनका पाउ कुबार्सीमाथि गरेको खतरनाक ट्याकलका कारण दिएका थिए।
इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनलमा एल्फाथलाई अमेरिकी सहायक रेफ्री कोरी पार्कर र काइल एटकिन्सले सहयोग गर्नेछन्। इटालीका माउरिजियो मारियानी फोर्थ अफिसियल रहनेछन् भने दानिएले बिन्डोनी रिजर्भ सहायक रेफ्रीको भूमिकामा रहनेछन्।






























