काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सोमबार सञ्चारगृहका गेटहरूमा रहस्यमय तरिकाले गाडी पार्किङ गरेर तर्साउने काम राज्य पक्षबाटै भएको स्वीकार गरेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका झाले घटना भएको २ दिनपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत राज्य आफैँ नागरिकलाई आतंकित बनाउने काममा संलग्न भएको टिप्पणी गरेका हुन्।
‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ’, उनले लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतंकित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ।’
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापा र भाटभटेनीअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी फेला परेका थिए।
सोमबार नै क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका ती गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए।
जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर सम्बन्धित व्यक्तिलाई गाडी फिर्ता दिएको हो। कुनै गाडीका चालक त कुनैका धनी सोमबार साँझ नै आफ्ना सवारीसाधान बुझ्न ट्राफिक प्रहरी कार्यालय पुगेका थिए।
भाटभटेनीअगाडि बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुनडाई क्रेटा गाडी थियो। अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कारचाहिँ सुनिल पौडेलको रहेको खुलेको छ। उक्त गाडी उनका भाइले लगेर गेटमा छाडेको खुलेको छ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा बा प्रदेश–०१–०३४ च ४० नम्बरको जिप पार्किङ गरिएको थियो। यो गाडी रास्वपाकै नेताको भएको खुलेको छ। रौतहट घर भएका रवि जैसवालको गाडी पुष्टि भइसकेको छ।
हिमालय टेलिभिजनको गेटमा राखिएको बा १० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको पाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना सभापति गगन थापाको निवाससँगै विभिन्न सञ्चारगृहअगाडि रहस्यमय तरिकाले गाडीहरू राख्ने काम सरकारकै भएको आरोप लगाइसकेको छ। यद्यपि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।






























