एटलान्टा । इंग्ल्यान्डले विश्वकप फुटबलमा बिहीबार तहल्का मच्चाउने सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्दा एउटै लक्ष्य राख्नेछ, लियोनल मेसीको लगातार दोस्रोपल्ट फाइनल खेल्ने सपनालाई टुटाउने।
जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा टिकेर अन्तिम चारको चरण पुगेको इंग्ल्यान्डले एटलान्टा स्टेडियमको छानामुनि मेसीविरुद्ध खेल्दै छ। त्यो त्यही मैदान हो, जहाँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यसै विश्वकपमा सम्झनलायक जित निकालिसकेको छ।
यी दुई टिम सन् २००२ को विश्वकपयता पहिलो पटक भिड्न लागेका हुन्। यिनीहरूको खेल आफैं अनेक सम्झनलायक प्रदर्शनले समेटिएको छ। त्यसमा सबैभन्दा अगाडि आउने त सन् १९८६ को विश्वकप नै हो, जसको क्वाटरफाइनलमा डिएगो म्याराडोनाले हातले गोल गरेका थिए। सन् १९९८ मा डिएगो सिमोनीलाई प्रहार गरेको आरोपमा डेविड बेकह्यामले रातो कार्ड खाएका थिए। अझ यी सबैको पृष्ठभूमिमा दुई देशले लडेको फकल्यान्ड युद्ध छँदै छ।
स्विट्जरल्यान्डविरुद्ध क्वाटरफाइनलमा ३–१ को जित निकालेयता अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलानीले तनावको स्थिति मत्थर पार्ने उद्देश्यले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, यो फुटबलको एक अर्को खेलमात्र हो।’ हुन् त यो खेलमा विशुद्ध फुटबलको दृष्टिकोणले हेर्न मिल्ने अनेक आयाम छन्। जस्तो, इंग्ल्यान्ड आफैं सन् १९६६ यता पहिलो पटक विश्वकपको फाइनल पुग्ने प्रयासमा छ। इंग्ल्यान्डले त्यति बेला एकै अवसरमा मात्र विश्वकपको उपाधि जितेको थियो।
अर्कोतर्फ अर्जेन्टिना भने लगातार दोस्रोपल्ट फाइनल पुगेर सन् १९६२ मा ब्राजिलले चुमेको यस्तै कीर्तिमानको बराबरी गर्न चाहन्छ। मेसीले इंग्ल्यान्डविरुद्धको खेलको पूर्वसन्ध्यामा भनेका छन्, ‘यो टिमलाई इतिहास बनाउँदै गर्दा थकाइ लाग्दैन। अझ यो टिम बढी सफलता हात पार्न चाहन्छ। विश्वकप उपाधि जित्न सजिलो छैन, हामीले जति जित्यौं, त्यो पनि सहज थिएन। त्यसमाथि अहिलेको उच्च स्तरको प्रतिस्पर्धामा लगातार सेमिफाइनल पुग्नु पनि ठूलै हो।’
संयोगले मेसीका लागि यो सेमिफाइनल इंग्ल्यान्डविरुद्ध आफ्नो खेल जीवनकै पहिलो खेल पनि हुनेछ। सेमिफाइनलसम्मको यात्रामा दुवै टिमको प्रदर्शन एकनासे र सहज रहन सकेको छैन। अर्जेन्टिनाले समूह चरण त सजिलै काट्यो, तर त्यसयताका नकआउट चरण गाह्रै साबित भएको छ। कुनै समय वेस्ट ह्यामका फुल–ब्याक रहेका स्कोलानीको टिमले केप भार्डेलाई अतिरिक्त समयमा हराएको थियो।
इजिप्टलाई त झन दुई गोलले पछाडि रहेको स्थितिमा हराएको हो। यो खेल एटलान्टामै भएको थियो। त्यसपछि अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अतिरिक्त समयको खेलमा समाप्त पारेको थियो। त्यही खेलमा मेसीको विश्वकपको ९ खेलमा लगातार गोल गर्ने क्रम पनि टुटेको थियो।
तर यसबीच अर्जेन्टिनाले विश्वकपका १२ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। अर्जेन्टिना अन्तिम पटक सन् २०२२ मा साउदी अरेबियाविरुद्धको खेलमा पराजित रहेको थियो। अर्कोतर्फ इंग्ल्यान्डले क्रोएसियालाई हराएर आकर्षक सुरुआत त लियो।
तर त्यही लय कायम राख्न सकेन। नकआउट चरणमा पनि इंग्ल्यान्डलाई गाह्रै भयो। डीआर कंगोलाई खेलको अन्त्यतिर हराउन कप्तान ह्यारी केनले दुई गोल गर्नुपरेको थियो। इंग्ल्यान्ड आफैं १० खेलाडीमा सीमित रहेर सहआयोजक मेक्सिकोलाई हराउन पनि अप्ठ्यारो परेको थयो। त्यसमा बेलिङ्घमले दुई गोल गरेका थिए। यिनै खेलाडीको दुई गोलको मदतमा इंग्ल्यान्डले अन्तिम आठमा नर्वेलाई रोकेको थियो।
इंग्ल्यान्डको पक्षमा रहेको एउटा सुखद तथ्य के भने आफूले खेलेका पछिल्ला ५ ठूला प्रतियोगितामा यो चौथो सेमिफाइनल प्रवेशको अवसर हो। इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्ड भन्छन्, ‘हामी सबैलाई थाहा छ, मेसी कति उत्कृष्ट खेलाडी हुन् भनेर। अर्जेन्टिना आफैंमा राम्रो टिम हो। त्यसैले हाम्रो उद्देश्य मेसीलाई रोक्ने त हुनेछ नै छ, हामीलाई तिनका अन्य खेलाडीबारे पनि ध्यान दिनुपर्छ। हाम्रो ध्यान अर्जेन्टिनाको अन्य बलियो र कमजोरी दुवै पक्षमा केन्द्रित हुनुपर्छ।’
अर्जेन्टिनी टिमलाई लिएर एउटा चिन्ताको विषय भने रहन सक्छ। यो हो, पाका खेलाडीको बाहुल्य। स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाले उतारेको सुरुआती ११ खेलाडीको औसत उमेर थियो, ३० माथि। यही तथ्यमा नर्वेविरुद्ध इंग्ल्यान्डको औसत उमेर थियो, २६.६। इंग्ल्यान्डका लागि सम्भवतः डेक्लेन राइसले खेल्ने वा नखेल्नेमा दुविधा हुनसक्छ, किनभने उनी बिरामी छन्। इंग्ल्यान्डका लागि सबै खेलाडीका लागि मेसीको पहिलो पटकको सामना आफैंमा सम्झनलायक रहन सक्नेछ।
मेसी भन्छन्, ‘मैले आफ्नो खेल जीवनमा लगभग सबैविरुद्ध खेलेको छु, इंग्ल्यान्डबाहेक। यो विश्व फुटबलको एउटा ठूलो टिम हो, महाशक्ति पनि। त्यसैले मेरा लागि पनि यो विशेष खेल हुनेछ। विश्वकपमा इंग्ल्यान्ड जत्तिको टिमविरुद्ध खेल्न पाउनु पनि ठूलै हो।’
दुई टिमबीचको अन्तिम खेल भने सन् २००५ को नोभेम्बरमा भएको थियो। त्यस मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ३–२ ले विजयी रहेको थियो। त्यसमा माइकल ओवेनले इंग्ल्यान्डका लागि दुई गोल गरेका थिए। त्यतिबेला मेसी १८ वर्षका मात्र थिए। उनले त्यो खेल खेल्न पाएका थिएनन्।






























