एटलान्टा । इंग्ल्यान्ड र अर्जेन्टिनाले शताब्दी पुरानो फुटबल प्रतिद्वन्द्विता बिहीबार नवीकरण गर्दै छन्। अवसर छ, विश्वकप २०२६ को सेमिफाइनल। विश्वकप इतिहासमै यत्तिको धेरै अर्थ बोकेको खेल अरू हुन सक्दैन, जसलाई रगतले लेखिएको छ र उतारचढावले भरिएको छ। फुटबलमा यी दुई जत्तिको शत्रु टिम पनि हुने छैनन्, किनभने ६ दशक लामो मैदानी युद्धमा नाटक, विवाद र जादुयी प्रदर्शन सबै छ।
त्यसैले २१ वर्षयता दुई फुटबल महाशक्तिबीच हुन लागेको खेलले सबैको ध्यान खिचेको छ। भनिएको छ, एटलान्टा यसको साक्षी हुनेछ। सन् २००५ मा अन्तिम पटक इंग्ल्यान्ड र अर्जेन्टिना खेल्दा लियोनल मेसी भर्खर १८ वर्षका थिए। जेनेभामा भएको मैत्रीपूर्ण त्यो खेल इंग्ल्यान्डले ३–२ ले जितेको थियो। मेसीले त्यो खेल किन खेल्न पाएनन् भने त्यसको ठीक अगाडि उनले डेब्यु खेलमै रातो कार्ड खाएका थिए।
दुई देशबीचको फुटबल सम्बन्ध वास्तवमै शताब्दी जतिकै पुरानो छ। अर्जेन्टिनी फुटबल इतिहासमै प्रमाणित पहिलो खेल सन् १८६७ मा भएको मानिन्छ। त्यसमा खेल्ने टिम थिए, रेल्वेका अंग्रेज कामदार। अर्जेन्टिनाका दुई प्रसिद्ध क्लब नेवेल्स ओल्ड ब्वाइज र रोसारियो सेन्ट्रल हुन्। यी दुई क्लबको स्थापना तिनै अर्जेन्टिनालाई आफ्नो कर्मथलो बनाएका अंग्रेजको हात थियो।
नेवेल्स ओल्ड ब्वाइजको स्थापना क्लाउडियो नेवेलले गरेका थिए र यसक्रममा उनले आफ्ना इसाक नेवेलको नाममै क्लबको नाम राखे। इसाक सन् १८६९ मा इंग्ल्यान्डबाट अर्जेन्टिना गएका थिए। यस्तै रोसारियो सेन्ट्रलको स्थापना अर्जेन्टिना पुगेका ७० अंग्रेज कामदारले गरेका थिए। क्लबको सुरुआती लक्ष्य थियो, फुटबल र क्रिकेट सँगसँगै खेल्ने।
यस्तै रिभर प्लेट र बोका जुनियर्स जस्ता अन्य दुई क्लबको नाम पनि अंग्रेजी भाषाबाट जुरेको थियो। अर्जेन्टिनाको प्रसिद्ध रिया डेला प्लाटालाई अंग्रेजीमा रिभर प्लेट भनिन्थ्यो। यही नाममा क्लब स्थापना गरियो। संयोगले बोका जुनियर्सको स्थापना अंग्रेजले गरेका थिएनन्, इटालीबाट आएका कामदारले गरे। त्यसमा बोकाले क्लब स्थापना भएको स्थानलाई जनाउँथ्यो।
त्यसको पछाडि अंग्रेज शब्द जुनियर किन थपियो भने ती इटालीका कामदारलाई लागेको थियो, यसले नामलाई आधुनिकपन दिन्छ। अझ विश्वास गर्नै गाह्रो के भन्दा पूर्ण अन्तर्राष्ट्रिय मान्यताप्राप्त इंग्लिस टिमको दोस्रो खेल अर्जेन्टिनासँग जुरेको थियो, सन् १९५१ मा। यस्तो अर्जेन्टिना नै स्कटल्यान्डपछि वेम्बलीमा इंग्ल्यान्डको सामना गर्ने पहिलो टिम रहेको छ। पछि यिनै दुई टिम फुटबलको मैदानमा साँच्चै शत्रु भएर निस्किए।
सन् १९६६ को विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिना पहिलो पटक भिडेका थिए। त्यसको चार वर्षअघि चिलीमा भएको विश्वकपमा इंग्ल्यान्ड समूह चरणबाट अर्जेन्टिनाको स्थानमा क्वाटरफाइल पुगेको थियो, गोल अन्तरका आधारमा। वेम्बलीमा त्यसै पृष्ठभूमिमा भएको खेलमा इंग्ल्यान्ड १–० ले विजयी रह्यो। त्यसलाई अझै पनि शताब्दीकै डाका डालिएको खेल भनिन्छ। अर्जेन्टिनीको के आरोप छ यो खेलमा इंग्ल्यान्डलाई जिताउन सक्दो झेल्ली गरिएको थियो।
त्यसपछि आउँछ, सन् १९८६ को त्यो प्रसिद्ध खेल त्यसमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ को हराएको थियो। त्यसमा दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए। सुरुमा हातले गरेका उनले पछि विश्व फुटबलकै एक उत्कृष्ट गोल पनि गरे।
सन् १९९८ को विश्वकपमा अर्जेन्टिना इंग्ल्यान्डमाथि पेनाल्टी शुटआउटमा विजयी रह्यो। त्यसअघिको खेल २–२ को बराबरीमा समाप्त भएको थियो। त्यही खेलमा त हो, डेविड बेकह्यामले रातो कार्ड खाएको। सन् २००२ को विश्वकपमा इंग्ल्यान्ड त्यसको बदला लिन सफल रह्यो १–० जितसँगै। यसमा पेनाल्टीबाट गोल गर्ने खेलाडी तिनै बेकह्याम थिए। यस हारसँगै अर्जेन्टिना समूह चरणबाटै घर फर्किन बाध्य रह्यो।






























